स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।
केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज (साेमबार) यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारीसमेत दिए।
‘केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरु यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरु यही हुनुहुन्छ। यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौँभन्दा छेक्नुपर्ने कारण छैन’, मन्त्री बस्नेतले भने, ‘केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ। सरकार ‘कन्भिन्स’ भएको छ। हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ।’
यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ।
‘संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस्। मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ’, उनले भने।
मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको जानकारीसमेत दिए।