डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसमेनका लागि उम्मेद्वारी घोषणा

प्रदीप भट्टराई

वासिङ्टन डीसी
तस्बिर सौजन्य : बाल्टिमोर सन
तस्बिर सौजन्य : बाल्टिमोर सन

अमेरिकाका नेपाली मूलको पहिलो राज्य विधायक डेलिगेट डा. ह्यारी भण्डारीले आगामी नोभेम्बर ५ मा हुने कंग्रेसको चुनावमा उम्मेद्वारी घोषणा गरेका छन्। उनले आफैले प्रतिनिधित्व गरिरहेको मेरिल्याण्ड एसेम्बेलीको डिस्ट्रिक्ट ८ समेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ ओपन सिट भएपछि त्यसमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

त्यस निर्वाचन क्षेत्रबाट बिगत २१ वर्षदेखि प्रतिनिधित्व गरिरहेका प्रभावशाली कंग्रेसमेन डच रूपेसवर्गरले शुक्रबार अब निर्वाचन नलड्ने घोषणा गरेका थिए। घोषणा गरेको सप्ताहान्तपछि डेलिगेट डा. भण्डारीले मेरिल्याण्डकै लोकप्रिय दैनिक 'बाल्टिमोर सन' मार्फत् आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

डा. भण्डारी सन् २०१८ मा  पहिलोपटक मेरिल्याण्ड एसेम्बेलीको डिस्ट्रिक्ट ८ को एसेम्बेली सदस्यमा निर्वाचित भएका थिए। डेमोक्रेटिक पार्टीबाट निर्वाचित उनी सन् २०२२ मा दोस्रो कार्यकालका लागि निर्वाचित भए । उनी अमेरिकामै राज्यको विधायक हुने नेपाली मूलका पहिलो विधायक हुन्। 

उम्मेद्वारी घोषणा गरेसँगै उनले चुनावी क्याम्पेन पनि सुरू गरेका छन्। अमेरिकामा चुनावी क्याम्पेन अत्यन्तै महङ्गो हुने बताउँदै उनले अमेरिकाका सबै नेपालीलाई अमेरिकामा नेपाल र नेपालीलाई देखिने, सुनिने र बिस्तारित गर्ने यो सुनौलो अवसरमा सहकार्य गर्न सबैलाई आग्रह गरेका छन्। 

उनले नाटककार गोपालप्रसाद रिमालको बहुचर्चित भनाइ 'एक जुगमा एक दिन एकपटक आउँछ' लाई सापट लिदै भनेका छन्, 'अमेरिकामा आफ्नै पार्टीले जित्ने ओपन सिट सामान्यत: एकजनाको सक्रिय जीवनमा एकपटक मात्र आउँछ। मेरो जीवनमा पनि आएको यो एउटा त्यस्तै दुर्लभ अवसर हो। म यो अवसरलाई नेपाल र नेपालीका पक्षमा ऐतिहासिक बनाउन यो अभियानमा जोडिएको छु।'

यो निर्वाचन क्षेत्र डेमोक्रेटिक बहुल क्षेत्र हो। आगामी मे १४ मा हुने प्राइमरी भनिने अन्तरपार्टी चुनावमा जित्ने डेमोक्रेटिक पार्टीको उम्मेद्वारले नै नोभेम्बर ५ मा हुने आमनिर्वाचन स्वत: जित्ने हो। त्यसैले यो निर्वाचनमा डेमोक्रेटिक पार्टीभित्रैको प्राइमरी बढी पेचिलो र प्रतिस्पर्धात्मक हुन्छ। 

अहिलेसम्म अरू कसैले उम्मेद्वारी घोषणा नगरे पनि यहाँ ठूलो संख्यामा उम्मेद्वारी पर्ने निश्चित छ। यद्यपि, डा. भण्डारीको मूल प्रतिस्पर्धा भने बाल्टिमोर काउन्टीका बर्तमान काउन्टी एक्ज्युकेटिव जनी ओल्जेवस्कीसँगै हुने देखिन्छ। अहिलेसम्म औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरिनसकेका उनको घर भने मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ मा पर्दैन। यसअघि उनी डन्डक क्षेत्रबाट मेरिल्याण्ड एसेम्बेली सदस्य रहिसकेका छन्।

प्रकाशित मिति: : 2024-01-30 08:26:00

प्रतिकृया दिनुहोस्