पौरखी नारी

घरधन्दा सकेर व्यवसायमा फराकिलो परिचय

Breaknlinks
Breaknlinks

महिलालाई चुलोचौकोमा सिमित पारियो। महिलाले पनि समान अधिकार पाउनुपर्छ। सय वर्षअघि देखि पुरुष सत्ताले दमन गर्‍यो। यस्तै विषयमा उठिरहने बहस त हामीले सुनिरहेकै हो।

अझ पछिल्लो समय त बिहेपछि महिला दलनमा परेको भन्दै बिहे नामक संस्था खारेज हुनुपर्छ भन्ने खालका आवाज पनि सुनिएका छन्। हुन पनि महिला अधिकारको विषयमा जति सुकै वकालत भए पनि अवस्था ज्युँका त्युँ छ।

अवस्थामा केही सुधार भए पनि महिलाहरुको अवस्थामा आशातित परिवर्तन भने भएकै छैन। तर, केही यस्ता महिलाहरु पनि छन्। जसले घरधन्दा सकेर आफूलाई समाजको उच्च ओहोदामा स्थापित गरेका छन्। त्यसको उदाहारण हुन्, पोखराकी मिलन थापा। दुई दशकदेखि निरन्तर व्यवसायमा आबद्ध थापाको व्यवसायीक यात्रा अहिलेसम्म बिराम लागेको छैन। ‘रिकण्डिसन हाउस’बाट सुरु भएको थापा परिवारको व्यवसायीक सफलता दर्जन बढी व्यवसामा फैलिएको छ।

‘बिहे भएर आईसकेपछि म दुई वर्ष जति त फ्याम्लभित्रै बसेँ। एसएलसी दिनुपर्ने थियो। उतीर्ण पनि भएँ। त्यसपछि घरपरिवारले हामी पढाइभन्दा एउटा व्यवसायीक परिवार हो। हामी कसैको जागिर खान जान दिदैनौं,’ उनले विगत सम्झिइन्, ‘तिमी पढ्नभन्दा व्यवसायतिरै लाग भन्ने कुरा घर परिवारबाट उहाँको बुवा दाईहरुबाट आईसकेपछि मैले सोचें, त्यतिबेला पढ्ने भनेको उही जागिर खान जाने हो। उहाँहरुकै महिना मरेपछि तलब लिएर आएर बुझाउने हो। मैले पढेपछि कुनै ठाउँमा जागिर खानुपर्छ भन्ने मेरो सोचाइ थियो।’ परिवारले व्यवसायमा लाग्न उत्प्रेरित गरी सकेपछि व्यवसायमा लाग्ने योजना बनाएको उनले बताइन्। ‘व्यवसाय, परिवारलाई प्राथमिकता दिदै अहिलेसम्म आएँ,’ उनले भनिन्।

व्यवसायमा संघर्षपूर्ण र संक्रमणकालीन अवस्था झेल्दै आएको थापा अहिले सफल व्यवसायीको रुपमा स्थापित छिन्। थापा परिवारको व्यवसाय फस्टाउदै गर्दा माओवादी जनयुद्ध पनि सुरु हुँदै थियो। बाहिर कतै जान पनि डर लाग्दो अवस्थामा निडर भएर संघर्ष गरेकाले व्यवसायमा सफल भएको उनको भनाई छ।

०५२ सालमा बिहे हुँदा थापा जम्मा १६ वर्षकी थिइन्, मिलन। ‘कलिलोउमेरमा बिहे भयो। ०५३ सालबाट यहाँ व्यवसायमा आबद्ध हुनुहुन्थ्यो। त्यही व्यवसायलाई सपोर्टको हिसाबले मैले सुरु गरें,’ थापाले आफ्नो दुई दशक लामो व्यवसायीक जीवनको आरोह अवरोहबारे अघि सुनाइन्।

थापा परिवारको व्यवसायी छलाङ

व्यवसायमा कहिले घाटा। कहिले नाफा। मिलन बिहे गरेर आउँदा थापा परिवारले ‘रिकण्डिसन’ व्यवसाय भर्खर थालेको थियो। ‘सुरुको अवस्थामा विभिन्न अभाव र कठिनाइ थिए,’ उनले भनिन्, ‘४, ५ वर्षसम्म त हामी आफैले ह्याण्डल गर्‍यौं। पछि मात्रै हामीले स्टाफ राखेका थियौं।’

पोखराबाट सुरु भएको थापा परिवारको व्यवसायको हाँगा फैलिएर चिवन, झापा हुँदै काठमाडौँसम्म पुगेको छ। अहिले ‘ड्याटसन र फोर्स’ मोटरको अधिकृत बिक्रेता बनिसकेको छ थापा परिवार। ट्राभलमा पनि लगानी हालेको थापा परिवारको भर्खर यात्री ट्राभल सुरुआत भएको छ। विभिन्न व्यवसायलाई जोड्ने हेतुले सुरु भएको ‘हिमालय अर्गनाइजेसनमा’ ९ वटा कम्पनीमा आबद्ध भईसकेको छन्। जसको मुख्य उद्देश्य व्यवसायीक घराना बढाउनु हो। जसको नेतृत्व उनै थापाले गरिरहेकी छिन्।

अटो व्यवसायबाट सुरु गरेको यो परिवारले अन्य वैदेशिक ‘ब्राण्ड’ नेपाल भित्राउन पनि पहल गरिरहेको छ। जापानमा उत्पादन हुने सुजुकी मोटरसाइकलको अधिकृत विक्रेता अहिले थापा परिवारले नै गर्छ। सुजुकीपछि कोरियन मोटरसाइकलको समेत बिक्रेता बन्यो। कोरियन कम्पनीको डेलिम ब्राण्डले पोखरामा राम्रै बजार लियो। अहिले चार पाँग्रेको विक्रेता बनेको थापा परिवारको व्यवसायबाट ९५ जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन्।

कोरोना महामारीका कारण व्यापार घटेपछि अहिले कर्मचारीहरुले दुई सिफ्टमा काम गरिरहेका छन्। ‘सुरुमा बन्द हुँदा त हामीले कसैलाई पनि बिदामा पठाएनौं। अब त खुल्ला भनेको फेरि बन्द भयो। व्यापार सबै ठप्प,’ उनले भनिन्, ‘पछि स्टाफहरु आफैले सल्लाह गरेर दुई सिफ्टमा काम गछौं भनेर आइरहनु भएको छ।’

व्यवसायसँगै थापा विभिन्न संघ संस्थामा पनि आबद्ध छिन्। थापाले महिला दिदी बहिनीलाई कस्तो खालको प्रेरणा दिएर सक्षम बनाउने भनेर पहल गरिरहेको बताइन्। महिला उद्यमीमा पनि आबद्ध थापा वुमन्स एसोशियसन गण्डकीको कोषाध्यक्ष छिन्। ‘महिला दिदीबहिनीका समस्या र आवश्यकता र कसरी उजागर गर्न सकिन्छ भनेर चाइनादेखि अन्य बाहिरी मुलुकसँग मिलेर काम गरिरहेका छौं। उद्योग वाणिज्य संघमा एडभाइजरको रुपमा रहेको। महिला दिदी बहिनीलाई के गर्न सकिन्छ पहल गर्न लागि परेका छौं,’ उनले भनिन्। लायन्स क्लब इन्टरनेशनल, एम्नेस्टी इन्टरनेसनल लगायत थुप्रै संस्थामा आबद्ध थापा पोखरेली महिला व्यवसायीले सञ्चालन गरिरहेको रेडियो जननीकी अध्यक्ष हुन्।

घर परिवार र व्यवसाय दुवै एकसाथ सम्हाल्दै आएकी थापा ३ छोरा छन्। ‘सासु आमाको स्वास्थ्य अवस्था एकदमै कमजोर, ३ वटा छोरा साना। भर्खरै सुरु गर्दा मेनपावर पनि कम। बिहान आफ्नो काम सकेर बिहान ७ बजे नै पसलमा पुग्थें,’ उनले सुनाइन्, ‘९ बजेपछि स्टाफहरु आउने। अफिस घर एकै ठाउँमा भएकाले माथि पुग्दै तल ओर्लिदै गर्थे। माथिबाट तल झरेपछि खाजा बनाउन पनि माथि नै पुग्ने। अफिस बन्द भई सकेपछि खाना बनाउने। के छ दिनभरको अपडेट पनि गर्ने। फाइलिङ बुकमै अपडेट गर्ने गर्थे।’

नेपाली तथा विदेशी उत्पादनलाई समेट्दै आएको हिमालय अर्गनाइजेसन सँगै थापा परिवारले सञ्चालनमा ल्याएको अन्य व्यवसायमा समेत भ्याएसम्म उनले समय दिने गरेकी छिन्। धेरै कम्पनीमा म्यानेजिङ डाइरेक्टरको पदमा रहेकी थापा समय व्यवस्थापन गर्न सके सफल हुन सक्ने बताउँछिन्।

हिमालयन अर्गनाइजेसनसँगै हिमालय इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, आयम इन्टर कन्टिनेन्टल प्रा.लि, हिमालय रिसोर्ट प्रा.लि, हिमालय अटोवल्र्ड प्रा.लि, हिमालयन इक्विपमेन्ट प्रा.लि, हिमालय अटो इन्जिनियरिङ प्रालिलगायत आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति: : 2022-08-01 07:26:00

प्रतिकृया दिनुहोस्