शान्तिबाटिकामा धर्ना बसेकालाई महानगरले लखेट्यो, कहाँ जान्छन् पीडित? (तस्बिरसहित) 

काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना बसेकालाई लखेटेको छ। मंगलबार बिहान महानगरले नगर प्रहरी पठाएर धर्नामा बसेका मिटरब्याज पीडित, आरती गिरीगायतलाई लखेटेको हो। 

धर्नाका लागि तोकिएको माइतीघरमा सरकारले निषेधाज्ञा जारी गरेपछि विभिन्न माग राख्दै आन्दोलनरत विभिन्न व्यक्ति शान्तिबाटिकामा आश्रय लिन गएका थिए। कोही निषेधाज्ञाअघि नै त्यहाँ बसेका थिए। 

शान्तिबाटिका सार्वजनिक पार्क हो। पार्कलाई ११ महिनादेखि केहीले कब्जा गरेर बसेका भएकाले उनीहरुलाई त्यहाँबाट हटाइएको महानगरका सह–प्रवक्ता दिपक अधिकारीले बिएल नेपाली सेवासँग बताए। 

उनले शान्तिबाटिकामा मर्मत गर्नुपर्ने भएकाले पनि उनीहरुलाई त्यहाँबाट हटाइएको जानकारी दिए। ‘११ महिनादेखि एउटा सार्वजनिक पार्कलाई कब्जा गरी राखिएको छ। अब मर्मत पनि गर्नु पर्ने भएकाले त्यहाँबाट हटाइएको हो’, अधिकारीले भने। 

शान्तिबाटिकमा लामो समयदेखि बस्नेहरुले गर्दा रानी पोखरीमासमेत असर पुगेको उनको भनाइ छ। 

तर त्यहाँबाट लखेटिएका पीडितहरुलाई कहाँ पठाउने भन्ने महानगरले केही भनेको छैन। धर्नारत पीडितहरु अहिले सामानहरु जम्मा गरेर शान्तिबाटिका बाहिर बसेका छन्।

तस्बिरहरु:

प्रकाशित मिति: : 2024-02-06 10:50:00

प्रतिकृया दिनुहोस्