कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको राधापुरस्थित डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ, उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ।
बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ। चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरकोबीच भएर बग्ने गर्छ। झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ। खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ।
'निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ', उनले भनिन्, 'खेतमै मचान बनाएका छौँ। राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ।'
गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसानक परिवारको अवस्था यस्तै छ। करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन्। यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारकोे जस्तै देखिने बुख्याचासमेत राखेका छन्।
'काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ। त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ। जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ', नन्दाले भनिन्, 'यसले केही हदसम्म जनावर भाग्छन्।' राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ। डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएका उहाँ जनावरबाट जोगाउन सके वार्षिक चार लाखसम्मको कारोबार हुने गरेको बताउँछिन्।
निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताएका छन्। 'यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ। तर के गर्ने जोगाउन सकिँदैन', उनले भने, 'रातभर सुत्न पाउँदैनौँ। विद्युतको सुविधा पनि छैन। मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ।'