जीर्णोद्धारको पर्खाइमा विरासत बोकेको संसद् भवन

वि.सं. १९६५ मा बनेको पुरानोे संसद् भवनमा ०१५ सालको निर्वाचनपछि संसद् बस्न थालेको थियो । राष्ट्रिय पञ्चायत हुँदै ०६३ मा पुनस्र्थापित प्रतिनिधिसभा पनि यसै भवनमा बस्यो । राज्यले संरक्षणमा ध्यान नदिँदा इतिहास बोकेको संरचना खण्डहर बन्दै छ ।

०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारस्थित पुरानो संसद् भवनको आठ वर्ष बित्दा पनि प्रबलीकरण हुन सकेको छैन । देशको संसदीय राजनीतिको विरासत बोकेको तथा इतिहास बोल्ने संरचना संरक्षणमा राज्यले नै उपेक्षा गरेको छ । जसका कारण ऐतिहासिक महत्वको पुरातात्विक भवन कवाडखानाको रूपमा परिणत हुँदै छ । 

यो भवन अहिले संसद् सचिवालयका पुराना फर्निचर र काम नलाग्ने कागजात राख्ने ठाउँ बनेको छ । भित्तादेखि झ्यालढोकासम्ममा झार उम्रिएको छ । लामो समयसम्म पुनर्निर्माण नहुँदा चर्किएका भित्ताबाट इँटा र भवनका खम्बाहरूको प्लास्टर खस्दै गएको छ । भित्र मुसाको बिगबिगी छ । भवनको अवस्था दिनप्रतिदिन बिग्रिँदै जाँदा राज्यको सम्पत्ति उपयोगविहीन मात्र भएको छैन, कवाडखाना बन्दै छ ।

प्रकाशित मिति: : 2024-03-09 11:44:00

प्रतिकृया दिनुहोस्