तीर्थ पुनले जिते लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि तीर्थ पुनले जितेका छन्।

लुम्बिनीमा शनिबार सम्पन्न भएको म्याराथनमा पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे।

उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए। उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए।

दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तृतीय स्थान प्राप्त गरे। उनले २ लाख रुपैया पाए। प्रतियोगितामा अनिस थापा चौथो, किरण बोगटी पाँचौँ, सुशीलकुमार शाही छैठौँ, होमलाल श्रेष्ठ सातौँ, जुनेश खड्का आठौँ, राजन चौधरी नवौँ र प्रकाश गैरे दशाैँ स्थानसम्म आए।

चौथोदेखि १०औँसम्म आउनेले क्रमश: ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे।

महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्। सन्तोषीले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन्।

पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन्। विजेता सन्तोषीले २ लाख, पूर्णराज्य लक्ष्मीले १ लाख ६० हजार तथा पुष्पाले १ लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यस्तै पाँच किलोमिटरको छात्रा तर्फ अरुणा चौधरी पहिलो, कुसुम ठगुन्ना दोस्रो र भुमा चौधरी तेस्रो भए। छात्रतर्फ उमेश बराई, सन्देश पाण्डे र आशिषकुमार क्षेत्री शीर्ष तीन स्थानमा आए।

खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए। ५ किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनिया राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित मिति: : 2024-04-06 15:36:00

प्रतिकृया दिनुहोस्