मान्छे निलिरहेको बिजुलीका तार

चैत १० गते दिउँसोको साढे २ बजेको थियो। दाङको राप्ती गाउँपालिका–३ तल्लो मसुरिया चोकका ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ४ वर्षीय नाती कृष्ण केसी घर अगाडि बसिरहेका थिए।

उनीहरु बसेकै ठाउँमा घरमाथि रहेको विद्युतीय तार खस्यो। चुँडिएर खसेको तार तीन जनामाथि पर्यो। जुन तारले तीनै जनाको ज्यान लियो र एकै चिहान बनायो। गाउँ शोकमग्न बन्यो।

उक्त घटना ११ केभी (किलो भोल्ट)को लाइनको तार चुँडिएर भएको थियो। ११ केभीको लाइन चुँडिनु सामान्य मान्न नसकिने जानकार बताउँछन्।

तार कसरी चुँडियो? सामान्य भाषामा यही कारण हो भन्ने अवस्था छैन। तर विद्युत प्रावधिकरणको लापर्वाहीले गर्दा तार चुँडिएको थियो। विद्युत वितरण केन्द्र लमहीका प्रमुख युवराज रावत यो घटनालाई कसैको लापर्वाही नभएर भइपरि हुने घटना भएकाे बताउँछन्।

तर यो घटना भइपरि हुनेभन्दा पनि विद्युत प्राधिकरणले तारहरुको नियमित गर्नुपर्ने निरीक्षण नगर्नुको परिणाम भएको एक इलेक्ट्रिकल इन्जिनियरले बताउँछन्। ‘११ केभीको तार सामान्यतया चुँडिने भन्ने हुँदैन। जहाँ चुँडियो यो भाग कमजोर भएर चुँडिएको हो’, ती इन्जिनियर भन्छन्, ‘यस्तो कमजोर भाग प्राधिरकणले नियमित गर्नुपर्ने हाे, तर निरीक्षण नगरेर हो। निरीक्षण गरेर मर्मत गरेको भए यस्तो घटना हुने थिएन। सायद निरीक्षण नै भएन होला।’

प्राधिकणका प्रमुख रावत पनि तार फेर्ने क्रममा रहेको तर नफेर्दै चुँडिएर घटना घटेको बताउँछन्। ‘हामीले तार फेर्ने अवस्थामा थियौँ। घटनास्थलभन्दा केही अगाडि नयाँ तार राखिएको छ’, उनले भने, ‘यस क्षेत्रमा पनि फेर्ने तयारी भइरहँदा घटना घट्यो।’

प्राधिकरणको लापर्वाही देखिएपछि प्रतिव्यक्ति ५ लाखका दरले प्राधिकरणले मृतकका परिवारलाई राहत दिएको छ। लुम्बिनी प्रदेश र गृह मन्त्रालयले पनि थप एक–एक लाख दिने सहमति गरेको छ। यस्तै पीडित परिवारको एक जनालाई विद्युत प्राधिकरणमा रोजगार दिनेसमेत सहमति भएको छ।

यो हालै भएको विद्युतीय दुर्घटना हो। यस्ता घटना पटक–पटक भइरहन्छन्। विद्युतीय दुर्घटनामध्ये अर्को ठुलो दुर्घटना २०७५ साल माघ ११ गते जन्ती बसमा करेन्ट लागेर भएको दुर्घटना हो।

सिन्धुलीको दुधौलीबाट दुलही लिएर धनुषाको बल्टियाकोठिया फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा विद्युतीय तारले छुँदा ७ जनाको मृत्यु भएको थियो। यहाँ पनि ११ केभीको लाइनले नै बसलाई छोएको थियो।

छतमा राखेको सामानमा तारले छोएपछि बसमा करेन्ट प्रवाह भएको थियो। जुन घटना तार तोकिएको उचाइभन्दा कममा भएका कारण घटेको थियो।

विद्युत विस्तार बढिरहँदा विद्युतीय दुर्घटना न्यूनीरकण गर्न प्राधिकरण वा सराेकारवाला निकाय सक्षम देखिएका छैनन्।

पछिल्लो ४ वर्षको अवस्था हेर्ने हो भने मात्र पनि करेन्ट लागेर १ हजार १४७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांकाअनुसार आर्थिक वर्ष (आव)२०७७/७८ मा ३१४ जनाको करेन्ट लागेर मृत्यु भयो।

अर्को आव २०७८/७९मा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्यो। यस आवमा ३८४ जनाको मृत्यु भयो। यस्तै आव २०७९/८० मा २३३ जनाको र चालु आवको फागुनसम्म २१६ जनाको करेन्ट लागेर मृत्यु भयो।

करेन्ट लागे बाँच्ने सम्भावना न्यून

करेन्ट लागेमा बाँच्ने सम्भावना निकै न्यून हुनेगर्छ। घरमा बत्ती बाल्नका लागि जोडिएको २२० भोल्टको विद्युतीय झड्का (करेन्ट)लागे मात्रै पनि ज्यान जान्छ। योभन्दा उच्च भोल्टको करेन्ट लागेमा बाँच्ने सम्भावना नहुने जानकार बताउँछन्।

तथ्यांकले पनि विद्युतीय झड्का लागेकामध्ये धेरै जनाको मृत्यु भएको देखाएको छ। पछिल्लो ४ वर्षमा विद्युतीय झड्का लागेर १ हजार १४७ जनाको मृत्यु हुँदा घाइते हुनेको संख्या निकै न्यून १४० जना मात्र घाइते भएका छन्।

आव २०७७/७८ मा १५, ०७८/७९ मा ९, ०७९/८० मा ७४ र चालु आवको फागुनसम्म ४२ जना घाइते भएका छन्। यस तथ्यांकले विद्युतीय झड्का निकै खतरानाक भएको देखाउँछ।

तर जनचेतना अभाव होस् वा प्राधिकरणकै लापर्वाहीले गर्दा होस् करेन्ट लागेर नागरिकले ज्यान गुमाइरहेका छन्। वर्षमै डेढ सय जनाले ज्यान गुमाउन बाध्य हुँदा नेपाल विद्युत प्रावधिकरणले भने विद्युतीय सुरक्षाका लागि काम गरेको देखिँदैन।

हरेक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउनेबाहेक प्राधिकरणले नागरिकलाई सचेना जगाउने गरी काम गरेको पाइँदैन। यद्यपि प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोस विभिन्न संघसंस्थासँग मिलेर सचेनाका कार्यक्रम गरेको बताउँछन्।

तथ्यांकमा फरक

विद्युतीय दुर्घटनाको तथ्यांक नेपाल विद्युत प्राधिकरण र प्रहरीसँग फरक–फरक छ। प्रहरीसँग विद्युतीय दुर्घटनाबाट बर्सेनि १५० जना बढीको मृत्यु हुने तथ्यांक छ भने प्राधिरकणसँग बर्सेनि मात्र ४०–५० जनाको मृत्यु हुनेको गरेको तथ्यांक छ।

प्राधिकरण भएको तथ्यांकअनुसार आव २०७५/७६ मा करेन्ट लागेर ४४ जनाको मृत्यु भएको छ। यस्तै ०७६/७७ मा ४१ जना, २०७७/७८ मा  ४० जना,०७८/७९ मा ४३ जना र ०७९/८० मा ४८ र ०८०/८१ को फागुनसम्म ४१ जनाको मृत्यु भएको तथ्यांक छ।

तथ्यांक किन फरक भन्नेमा प्राधिकरण प्रवक्ता घोस विद्युतीय दुर्घटना विभिन्न प्रकारका हुने भन्दै उनले आफ्नो लाइनमा हुने तथ्यांक मात्र प्राधिरकणले राख्ने गरेको बताए।

उनकाअनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु भएका सबैले क्षतिपूर्ति पाउँदैनन्। प्राधिकरणको लापर्वाही देखिएका केहीले मात्र क्षतिपूर्ति पाउने गरेका छन्। बर्सेनि ४० जनालाई क्षतिपूर्ति दिने गरेको भएपनि प्राधिकरणको २ करोड रुपैयाँ क्षतिपूर्ति तिर्दैमा सकिने गर्छ।

प्रकाशित मिति: : 2024-04-17 18:37:00

प्रतिकृया दिनुहोस्