धर्नामा रुसी सेनाका परिवार: भन्छन्– हाम्रो आवाज सरकारले सुनेन, सडकमा आउनुपर्‍यो

रुसी सेनामा भर्ती भएका नेपालीका आफन्त सडक आन्दोलनमा उत्रिएका छन्। झण्डै आधा वर्षदेखि रुसी सेनामा भर्ती भएकाहरूको उद्धारको माग गरेपनि उनीहरूको उद्धार हुन नसकेको भन्दै आफन्तहरू सडकमा उत्रिएका हुन्। 

शुक्रबारदेखि काठमाडौँको माइतीघरमा धर्ना बसेर सरकारलाई उनीहरूले दबाब सृजना थालेका छन्। धर्नारत रुसी सेनामा भर्ती भएका आफन्तहरूले विभिन्न १३ बुँदे माग राखेका छन्। 

सेनामा भर्ती भएकाहरूको उद्धार, युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ती, युक्रेनको कब्जामा रहेका ५ नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन ब्यवस्था गर्न माग गरिएको छ। 

यस्तै बेपत्ताको खोजी, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, रुस पठाउने बिचौलियालाई कार्वाही, रुसी सेनाबाट फर्किएर आएका युवाको पुनस्थापना र पीडित परिवारको उचित हेरचाह हुनुपर्नेलगायत माग पीडितहरूको छ। 

आश्वसन मात्र बाँडिरहेको छ सरकार 

रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर पहिलो पटक मङ्सिरमा बाहिरिएको थियो। त्यसबेला स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का गरी ४ जनाको रुस–युक्रेनको युद्धमा मारिएका थिए। 

उनीहरू मारिएको खबर इजरायमा नेपाली विद्यार्थी मारिएको खबर सेलाउन नपाउँदै बाहिरिएको थियो। त्यसयता अबैध रुपमा रुसी सेना नेपाली कति गएका छन् र भर्ना कति भएका छन् चासोका साथ हेरिएको छ। 

आफन्तहरूले पनि रुसी सेनामा भर्ती भएकाहरूको उद्धारको माग गर्दै आउन थाले। रुसमा रहेका नेपालीहरूले पनि उद्धारका लागि याचना गरेका भिडियो सन्देश मात्र पठाएनन्, मिडियामा आएर सरकारसँग  हारगुहार गरे। 

तर सरकारले उद्धारको प्रयास भइरहेको र उद्धार गर्ने बताउँदै आए पनि आजसम्म सरकारी पहल कदमी उपलब्धमुलक भएको छैन। पटक–पटक सरकारको ध्यानाकर्षण गराएका पीडित परिवारले सिंहदरबार अगाडी यही बैशाख ६ गते र गएको वर्षको चैत १९ गते प्रदर्शन गरे। 

‘रुसी सेनामा रहेकाहरूको अवस्था थप जटिल बनिरहेको छ। रेड जोनमा लडाइमा पठाएको ५। सम्झौता अवधि सकिए पनि रुसले नेपालीलाई घर फर्किन दिएको छैन’, 'रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान'की संयोजक कृतु भण्डारीले भनिन्, ‘तर सरकारले उनीहरूका विषयमा सम्वेदन हुन नसकेपछि धर्नामा बस्नु परेको छ। 

भण्डारी आफूहरूको १३ बुँदे माग रहेको र ती माग पूरा नभएसम्म आन्दोलन स्थगन नगर्ने बताउँछिन्। 

रुसी सेनामा भर्ती भएर रुस–युक्रेनको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ । तर यो संख्या अझै बढी हुन सक्ने बताइन्छ।

थप  समाचार–
प्रकाशित मिति: : 2024-04-19 19:17:00

प्रतिकृया दिनुहोस्