इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय

आम जनता पार्टी (आजपा)ले इलाम–२ मा आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको छ।

आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै पहिचानवादीहरुको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार रहेका लिम्बुले ८ वैशाखमा आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै पत्राचार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका छन्।

‘अहिलेको उपनिर्वाचन परिणामले संसदीय अंकगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित छ। यसर्थ, यस विषयलाई गम्भीरतापूर्वक लिन आम मतदाताहरुलाई आग्रह गर्दछौँ। अहिले ईलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो ढोंग र नाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादी बीचको लडाइँ छ’, प्रवक्ता साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अहिलेको लुटकारी दलतन्त्र (दलीय शासन) र दलभित्रका केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवं धोखेबाज नेताहरुको अपराधले गर्दा नै देश अहिले संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको जनाउँदै आजपाले यसबाट ठोस एवं दीर्घकालीन निकासका लागि आम नागरिकको सर्वोच्चता (जनताको शासन) स्थापित गर्न गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, ईमानदार एवं प्रतिबद्ध नेतृत्वको छनौट गर्न आवश्यक रहेको जनाएको छ।

‘यसका लागि देशमा असहाय, अबला, आवाजविहीनहरुको बुलन्द आवाज बन्न सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धिका साथ अधिकार एवं पहिचानका मुद्दाहरुलाई संस्थागत गराई देशलाई अग्रगमनको पथमा निरन्तर अगाडि बढाउने सबालमा हामी बिच भविष्यमा पनि थप मजबूत सहकार्यहरु हुने विश्वाससहित आम जनताका साझा मनमुटुका लोकप्रिय उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई आसन्न चुनावमा सफलताको शुभकामना व्यक्त गर्दै हाम्रो तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहेको विषय सहर्ष जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2024-04-22 15:42:00

प्रतिकृया दिनुहोस्