नेपालगञ्ज रङ्गशाला सुनसान

बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकेको छैन।

खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने बताए।

पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए। हाल ती संरचना चालु अवस्थामा छैनन्।

त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए  ।

कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताए।

अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटवल र दाङमा हुने गरेको उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताए।

अहिले रङ्गशालामा सङ्घीय सरकारबाट आउने बजेट शून्य रहेको जानकारी दिँदै प्रमुख चन्दले रङ्गशालालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समिति गठन भएको र त्यसले बुझाएको प्रतिवेदनका आधारमा सञ्चालन हुने बताए।

उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरु सञ्चालन गर्ने पर्खाइमा रहेको उल्लेख गर्दै प्रतियोगिता नहुँदा, नियमित रेखदेख र सम्भार नहुँदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकेको जानकारी दिए।

प्रकाशित मिति: : 2024-04-29 09:51:00

प्रतिकृया दिनुहोस्