उपेन्द्रसँग टुक्रिएर फेरि अरुसँग मिल्न खोज्दैछन् ‘जसपा’का टुक्राहरू

उपेन्द्र यावद नेतृत्वमा रहेको ‘जनता समाजवादी पार्टी (जसपा), नेपाल’ फुटाएर ‘जनता समाजवादी पार्टी’ बनाएर गएकाहरूमाथि किन पार्टी फुटाएको भनेर प्रश्न उठिरहेको छ। 

पार्टी किन फुट्यो? बाहिरी वा भित्री कुन शक्तिले पार्टी फुटायो भन्ने विभिन्न अड्कलबाजी भइरहेको छ। सरकार टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन उक्साएको चर्चा पनि छ। 

तर त्यसको खण्डन प्रचण्ड स्वयमले गरिरसकेका छन् भने जसपा नेपाल फुटाएर जसपाको अध्यक्ष बनेका अशोक कुमार राईले पनि पार्टी फुट्नुमा कुनै शक्तिले काम नगरेको प्रष्टिकरण दिइसकेका छन्। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले काँग्रेससँग मिलेर प्रचण्ड नेतृत्वको सरकार ढाल्ने चलखेल गरेकाले जसपा नेपाल फुटेको पनि टिप्पनी भइरहेको छ। 

सत्य के हो त? जसपाका नेताहरूले बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा रहेको एक होटलमा पत्रकार सम्मेलन गरेर प्रष्टिकरण दिएका छन्। हिजो बुधबार जसपा नेपालका अध्यक्ष यादवले केही ब्यक्तिको ‘ब्यक्तिगत महत्वकाँक्षा’ले पार्टी फुटेको बताएका थिए।

तर त्यसको खण्डन गर्दै आज बिहीबार जसपाका अध्यक्ष आशोक राईले उपेन्द्र यादवको महत्वकाँक्षाले गर्दा पार्टीमा बिस्फोट आएको बताए। ‘पार्टी फुट्नुमा कसैको हात छैन। नेतृत्वले एकलौटी पार्टी चलाउन थालेपछि विस्फोट भएको हो’, उनले भने। 

हलभरी उपस्थित पत्रकारका प्रश्नमा राईले यादव विधिविधानबिपरीत नेतृत्वले काम गरेपछि आफूहरू बाहिरन बाध्य भएको बताए। 

यसअघि जसपाका महासचिव महोम्मद इश्तियाक राईले प्रेस विज्ञप्ति पढ्दै यादवमाथि आरोपै आरोप लगाए। पार्टी फुट्नुका सबै कारण कोही नभएर यादव रहेको उनको जिकिर थियो। 

पार्टी फुटाउनुको अपरिहार्यता र कारणहरूसमेत भनेका इश्तियाकले मुख्यत उपेन्द्र यावद एकलौटी पार्टी चलाएर पार्टी नै जोखिममा पर्ने अवस्था आएपछि आफूहरू बाहिरनु परेको बताए। 

जसपा नेपालको विधान अधिवेशन २०८०बाट पारित गरिको विधानभन्दा बाहिर गएर यादवले पार्टी चलाएको उको आरोप छ। ‘विधान अनुसार, लोकतान्त्रिक मूल्यमान्यताअनुसार पार्टी सञ्चालन गर्ने भन्ने भएपनि पार्टीमा एकलौटी निर्णय गर्दै नेतृत्वबाट पार्टी कोल्याप्स गर्ने कामभयो’, इश्तियाकले भने, ‘लोकतन्त्र, संघीयता बचाउन पनि पार्टी फुटाउनुपर्यो।’

उनले पार्टीका सबै संरचनाहरू तदर्थ समितिका रुपमा रहेको र केन्द्रीय आयोगहरू नरहेको अवस्थामा पार्टी कमिटीहरूमा निर्णय भन्दा फरक रुपले ब्यवहार गर्ने र अन्य पदाधिकारीको सहअस्तित्व स्विकार नगर्ने प्रवृत्ति उपेन्द्रमा रहेको आरोप लगाए। 

यस्तै उनले विधानविपरीत महाधिवेशन हुन थालेको पनि बताए। इश्तियाकले पार्टीले सदस्यता नविकरण नगरेर जेठ २८, २९, ३० मा राष्ट्रिय महाधिवेशन गर्ने तयारी भएको, संगठित सदस्यताको अभिलेखलाई अध्यावधिक नगरी हतारमा महाधिवेशन प्रकृया थालिकाले अधिवेशनपछि पार्टी नरहने, संगठन कमजोर हुने र एउटा निश्चित क्षेत्रको पार्टी हुने देखिएपछि पार्टीमा फुट आएको बताए। 

पार्टी फुटाएर फेरि अरुसँग मिल्न खोज्दै

आइतबार (वैशाख २३) ७ जना सांसदसहित जसपा नेपाल फुटाएर जसपा गठन गरेका अशोक राई र इश्तियाक राई फेरि अरू पार्टीसँग मिल्न खोज्दैछन्। 

बिहीबार पत्रकार सम्मेलनमा अशोकले विचार मिल्नेसँग फेरि एकता गरिँदै जाने बताए। उनले भने– ‘यो जानकारी गराउँकी अब हामीले विचार मिल्ने साना–सना दलहरूसँग एकता गर्ने छौँ। त्यसको थालनी पनि गरिसकेका छौँ।’

पार्टी एकता गर्नका लागि फोन आइसकेको बताउँदै उनले विचार मिल्ने दलहरूलाई एकजुट हुनका लागि आह्रान समेत गरे।  

फेरि फुट्यो जसपा

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल फेरि फुटेको छ। संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका छन्। 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरूले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेका छन्। उनीहरूले प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन्। 

पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरूको आरोप छ। 

प्रकाशित मिति: : 2024-05-09 19:40:00

प्रतिकृया दिनुहोस्