रवि लामिछानेलाई रातारात पाेखरा लगिनु निकृष्ट घटना: रास्वपा

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिनु निकृष्ट घटना भएकाे जनाउँदै आपत्ति प्रकट गरेकाे छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछाने सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको भन्दै आपत्ति प्रकट गरेका छन्। 

सहकारीकाे रकम अपचलनमा मुछिएपछि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई मंसिर १९ राति चितवनबाट रातारात पाेखरा लगिएकाे थियाे।

दिनभर चितवन सरकारी वकिलकाे कार्यालयमा बयान सकाएपछि लामिछानेलाई हवाइ मार्गबाट पाेखरा लगिने भनिएपनि शंकास्पद रुपमा रातिमा स्थलमार्गबाट पाेखरा लगिएपछि प्रहरीकाे गतिविधिमाथि प्रश्न खडा भएकाे छ। 

शुक्रबार रास्वपाले प्रहरीकाे उक्त कार्यप्रति निन्दा गर्दै भनेका छ– ‘सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको रहेछ। यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन्।’

रास्वपाले सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएकाे बताएकाे छ। 

साथै लामिछानेको निजी डायरी पनि हिरासतबाटै गायब गरिएको भन्दै त्यसप्रति पनि रास्वपाले भर्त्सना गरेकाे छ। 

सास्वपाले लामिछानेलाई रातारात पाेखरा लगिने औचित्य पुष्टि गर्नुपर्ने माग गर्दै मानव अधिकारकर्मीकाे ध्यानाकर्षका लागि आग्रह गरेकाे छ।

यस्ताे छ विज्ञप्ति

विक्रम संवत् २०८१ मंसिर २१ गते
नेपाल संवत् ११४५ थिंलाथ्व पञ्चमी

विज्ञप्ति
 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति रहेको छ। सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको रहेछ। यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु  प्रहरी सुत्रबाट प्राप्त भएका छन्।

सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो। यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ। हामी यसको घोर भर्त्सना गर्दछौं। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ।  यो निर्मम कदमको औचित्य राज्यले पुष्टि  गर्नुपर्नेछ। यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।

 रवि लामिछाने कसुरदार नभई एक आरोपित मात्र हुन्। सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेका छन्। अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८,  धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं। अत: यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट सुक्ष्म रुपमा नियालीरहेको परिप्रेक्ष्यमा राज्य संयन्त्र रास्वपा र यसका सभापति विरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको थप स्पष्ट बनाएको छ। आज सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको छ। तसर्थ राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं।
मनिष झा
प्रवक्ता (कार्यवाहक)

प्रकाशित मिति: : 2024-12-06 14:47:00

प्रतिकृया दिनुहोस्