पर्साबाट ३० लाख बढीको कपडा बरामद

पर्साको वीरगञ्ज महानगपालिका -६ लाटगलीबाट सशस्त्र प्रहरी बलले ३० लाख रुपैयाँ बढीको कपडा बरामद गरेको छ।

भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान सशस्त्र प्रहरीले शनिबार राति बरामद गरेकाे हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारीसहितको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस, स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस, लेडिज ब्याग, साडी पिन, लङ कोटलगायत रहेको छ।

आज आइतबार ती सामनको ३० लाख ४९ हजार सात सय मूल्य कायम गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइको छ।

पछिल्लो करिब ९ महिनाको अवधिमा मात्र डिएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरी राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको डिएसपी थापाले बताए।

प्रकाशित मिति: : 2024-12-15 13:53:00

प्रतिकृया दिनुहोस्