प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान)को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन्। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको छ।
‘हामीसँग आठवटा औद्योगिक क्षेत्रहरू छन्। फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्याँस उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ’, प्रधानमन्त्री ओलीले भने।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए।
प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे। ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले देशलाई आधुनिकिकरण र विकासको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, ‘इप्पानले अध्यारोबाट उज्यालोतर्फ देशलाई डोर्याउन आफ्नो लगानी गरेको छ । इप्पानले धेरै उपलब्धीहरु हासिल गरेको छ । इप्पानले देश विकासमा पुर्याउनु भएको योगदान धेरै नै महत्वपूर्ण छ । देशलाई एउटा आधुनिकीकरण र विकासको बाटोमा अगाडि बढाउन धेरै भूमिका खेलेको छ ।’