राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध साहारा चितवन सहकारी ठगी प्रकरणमा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ।
बुधबार चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस नसकिएपछि बिहीबार आज फेरि बहस सुरु भएको हो। हिजो लामिछानेलाई बिहीबार ११ बजे अदालतमा उपस्थित गराउनु गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो।
आज लामिछानेविरुद्ध तीन जिल्लाका न्यायाधिवक्ताले पनि बहस गर्ने चितवन अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। बारा जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ जिल्लाबाट आएका दशरथ पंगेनीले बहस गर्नेछन्।
रविको तर्फबाट १० जनाले बहस गर्नेछन्।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा रविसहित २१ व्यक्ति र संस्थाविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो।
बुधबार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए।
साहरा चितवन सहकारी ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।