मुगुको सोरु गाउँपालिका-१० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले खसालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ।
सोरु गाउँपालिका धैन घर भएका ६ वर्षीय बालक लोकजंग नेपालीको घटना स्थलमै मृत्यु भएको हो। उनकी आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयवासीले बताएका छन्।
हुम्लाबाट आफ्नो घर धैनतर्फ फर्किदै गर्दा सोरु गाउँपालिका-१० बलाडी नजिकै उनीहरू डोजरले खसालेको ढुंगाको चपेटामा परेका थिए।
उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाही र डोजर धनी सोही वडा निवासी नवराज मल्लले लिएका छ्न। घटनास्थल सदरमुकामदेखि टाढा भएकाले थप विवरण आउन बाँकी छ।
अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ। घाइते कल्पना नेपालीलाई सदरमुकाम गमगढी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।