‘सहकारीको पैसा अमेरिका ओसार्ने’ रास्वपा नेता थापा एयरपोर्टबाटै पक्राउ

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापा अमेरिकामा पक्राउ परेका छन्।

अघिल्लो साता अमेरिका प्रवेश गर्ने क्रममा उनी पेन्सिल्भेनियाको फिलाडेल्फिया विमानस्थलबाटै पक्राउ परेका हुन् । गैरआवासीय नेपाली संघका केही पदाधिकारीहरूको जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको थियो।

नेता थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी दिएका छन्।

उनी लामो समयदेखि नेपाल–अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि गत वर्ष केही समयका लागि अमेरिका फर्किएका थिए। त्यसको केही समयपछि नै उनी नेपाल फर्किएका थिए ।

थापा २०१८ मा मानव तस्करीसम्बन्धी एक मुद्दामा जेल परेका थिए । ट्रम्प प्रशासनले गम्भीर मुद्दाका अभियुक्तलाई देश निकाला गर्ने निर्णय गरेर कडाइ गरिरहेको बेला उनी त्यसको बेबास्ता गर्दै अमेरिका प्रवेश गर्न खोजिरहेका थिए । मानव तस्करीसम्बन्धी मुद्दामा दोषी ठहर भएकै कारण उनी पक्राउ परेको हुन सक्ने अनुमान गरिएको छ । अमेरिकी ग्रीनकार्ड भएका थापा केही समयदेखि अस्वभाविक रुपमा अमेरिका  ओहोर–दोहोर गरिरहेका थिए । यही कारण पनि उनलाई अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर  सोधपुछ गरेको हुन सक्ने एक एनआरएनए पदाधिकारीले बताएका छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति लामिछानेसँग थापाको उठबस थियो। लामिछानेले सहकारीको रकम अमेरिका पठाएको आरोपमा प्रहरीले फरक कोणबाट अनुसन्धान गरिरहेको छ। अमेरिकामा लिलाम हुनै लागेको लामिछानेको घर उकास्न उक्त रकम प्रयोग भएको दाबी छ।

सभापति रविले पठाएको उक्त रकम हुण्डीमार्फत अमेरिका लैजान थापाले सहजीकरण गरेको स्रोतको दाबी छ। यसअघि उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको रविकै व्यावसायिक साझेदार जीबी राईको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको थियो। लामिछानेले गृहमन्त्री रहँदासम्म थापामार्फत पटक–पटक गरी १२ करोड रुपैयाँ अमेरिका पठाएको स्रोतको दाबी छ।

थापा यसअघि अमेरिकामा सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको अभियोगमा जेलसमेत परेका थिए । 

थापाको टिमले केही महिनाअघि राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणालाई बहिष्कारको आह्वान गरेपछि नेपाली समुदायमा गर्न लागिएको कार्यक्रम नै रद्द भएको थियो।

पक्राउ परेका थापालाई अमेरिकी अध्यागमनले नेपाल फिर्ता पठाउने सक्ने नेपालको अध्यागमन विभाग स्रोतले बतायो।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासीविरुद्ध कठोर नीति लिएका छन्। अमेरिकामा गैरकानुनी बसिरहेका गैरअमेरिकीहरूलाई पक्राउ गरेर धमाधम उनीहरूकै देश फिर्ता गरिरहेका छन्।

प्रकाशित मिति: : 2025-03-02 11:50:00

प्रतिकृया दिनुहोस्