उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोतमा सम्पन्न मुलुक नेपालले पानीको संरक्षणमा लाग्नु आवश्यक रहेको बताएका छन्।
शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्नसके दैनिक जिवनमा मात्र नभइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताए।
उनले भने, ‘पानीबिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाह्रो छ। सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं। यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। दैनिक जिवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि जलस्रोत अत्यन्तै उपयोगी छ। खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, लक्ष्य लिएर मुलुक अगाडि बढिरहेको छ।’
उनले पानीको संरक्षणसँगै पानीबाट सिर्जित चुनौतिहरूको व्यवस्थापन गर्नुपर्ने बताए। उनले हिमालको अवस्था, हिमनदीको अवस्था र त्यसबाट सिर्जित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर रुपले लागिरहेको बताए।
उनले भने, ‘विभिन्न दातृ राष्ट्रहरू, विकास साझेदारी राष्ट्रहरूसँग छलफल र अनुरोध गरिराखेको छ। हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरू आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु।’