रुस-युक्रेन : ‘ब्ल्याक सी’मा युद्ध नगर्ने सम्झौताले के अर्थ राख्छ?

Break n Links
Break n Links

रुस र युक्रेन ब्ल्याक सीमा युद्ध रोक्न सहमत भएका छन्। साउदी अरबमा अमेरिकाले रुस र युक्रेनी अधिकारीहरूबीच छुट्टा छुट्टै वार्ता गरिरहेको छ। र तीन देखि जारी छलफलबाट पहिलो चरणमा ब्ल्याक सी मा युद्ध बिराम गर्न दुबै पक्ष सहमत भएका हुन्। 

यद्यपि सबै प्रतिनिधिहरू एकसाथ वार्तामा भने बसेका छैनन्। वार्ता अझै जारी छ। यसअघि पनि अमेरिकी अधिकारीले युक्रेनसँग साउदीमै वार्ता गरेका थिए। 

ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै दीगो शान्तिका लागि यो एउटा ठोस र बलियो कदम भएको जनाएको छ। यसले विश्व व्यापार मार्ग पुन: सञ्चालन गर्न सजिलो हुने अमेरिकाको विश्वास छ। यसअघि नै युद्धरत रुस र युक्रेन दुबै देश उर्जा संरचनामा आक्रमण नगर्न सहमत भइसकेका छन्। 

तर रुसले आफ्ना खाद्य तथा मलखादलगायतमा लगाइएका कैयौ प्रतिबन्ध हटाइएपछि मात्रै यो सम्झौता लागु हुने बताएको छ। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता उसमाथि कैयौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छन्। 

युक्रेनका राष्ट्रपति भोलोमिर जेलेन्स्कीले ब्ल्याक सागरमा आक्रमण रोक्ने सम्झौतालाई दीगो शान्ति स्थापनका लागि एक कदम भएको प्रतिक्रिया दिएका छन्। 
ब्ल्याक सी भनेको एउटा अन्तर्राष्ट्रिय सामुद्रिक ब्यापारिक मार्ग हो। जहाँबाट विश्वलाई पुग्ने आधाभन्दा धेरै दैनिक उपभोग्य सामानहरूको ढुवानी हुन्छ। युद्धको सुरुवातदेखि नै यो बाटो नछेक्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरेको थियो। केही समय युद्धरत दुबै पक्ष त्यसका लागि सहमत भए पनि पछि रुसले सम्झौता खारेज भएको घोषणा गरेको थियो। त्यसपछि विश्वमा खाद्य आपूर्ति चक्र नै अवरुद्ध भयो। 

विश्वमा सबैभन्दा धेरै खाद्यान्न उत्पादन र निर्यात गर्ने एउटा प्रमुख देश युक्रेन हो। त्यसपछिको हिस्सा रुसले ओगट्छ। र, रुस र युक्रनले ओगट्ने विश्वभरिको लगभग २७ प्रतिशत खाद्यान्न ढुवानी हुने एकमात्रै अन्तर्राष्ट्रिय सामुद्रिक मार्ग भनेको ब्ल्याक सी नै हो। 
 

प्रकाशित मिति: : 2025-03-26 10:17:00

प्रतिकृया दिनुहोस्