पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले नेशनल कमाण्ड अथ्योरिटी (एनसीय) को आपतकालीन बैठक बोलाएका छन्।
पाकिस्तानको आन्तरिक तथा बाह्य सुरक्षा र प्रतिरक्षाका बारेमा निर्णय लिनसक्ने सबैभन्दा उच्च निकाय एनसीय हो। यसमा जनप्रतिनिधि तथा सैनिक नेतृत्वहरू हुन्छन। अरु सुरक्षा अंगका प्रमुखहरूमा पनि यसमा हुन्छन्।
युद्धका समय वा अरु आपतकालीन समयमा राष्ट्रको सुरक्षाका विषयमा अन्तिम निर्णय लिने अधिकार एनसीयलाई छ।
गत मे ७ मा भारतले पाकिस्तानमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता दुबैले हवाई आक्रमण जारी राखेका छन्।
भारतीय सैनिकले ‘अपरेशन सिन्दूर’ अपरेशन चलाएर पाकिस्तानमाथि आक्रमण थाले पछि उसले पनि भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गर्दै ‘अपरेशन बुनयान मरसुस’ सुरु गरेको छ।
दुबै देश आणविक हतियारका लागि धनी छन्। यो युद्धमा यसअघि नै पाकिस्तानले आणविक आक्रमण गर्नसक्ने चेतावनी दिइसकेको छ। त्यो हतियारको प्रयोगबारे एनसीयले नै निर्णय लिन सक्छ।
सन् २००२ तिर पाकिस्तानको सुरक्षा परिषदले उच्चअधिकार सम्पन्न यो प्राधिकरण बनाएको हो।