पाकिस्तानले आक्रमण गर्नसक्ने भारतका सम्भावित सहरहरूमा त्यहाँ सुरक्षा संयन्त्र अनि सरकारहरूले ‘साइरन’ लगाउन सुरु गरेका छन्। यो भनेको सम्भावित आक्रमणको सूचना आउनासाथ आम सर्वसाधारण नागरिकलाई सुरक्षित र सावधान रहन दिइने पूर्वचेतावनी प्रणाली हो।
यसअघि नै भारतले आम सर्वसाधारण नागरिकलाई समेत सहभागी गराएर ‘मक ड्रिल’ अर्थात् युद्धको संकटकालीन अवस्थामा कसरी सुरक्षित रहने, उद्धार अनि सहयोग गर्ने भन्ने पूर्वाभ्यास हो। क्षेप्यास्त्र अनि ड्रोन आक्रमणको बेला प्रायजसो सहरका बत्तीहरू निभाइन्छ। त्यस्तो अवस्थामा कसरी सुरक्षित रहने भन्नेबारे अहिले स्थानीय सुरक्षा संयन्त्र र सरकारी सुरक्षा अधिकारीहरूले आम नागरिकलाई सिकाइरहेका छन्।
मे ७ मा भारतले पाकिस्तानमाथि कैयौ क्षेप्यास्त्र प्रहार गरेर कतिपय आतंकवादीहरू रहेका आश्रयस्थलहरू नस्ट गरिदिएको दाबी गरेको थियो। त्यसलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको थियो। त्यसलाई अब युद्धको सुरुवात नै मानिएको छ र दुबै देशले त्यसको भंयकर तयारी गरिरहेका छन्। पाकिस्तानी सेनाले पनि ‘अपरेशन बुनयान मरसुस’ सुरु गरिसकेको छ।
योबीचमा दुबै तर्फका सेनाले एकअर्काको भूभागमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेका छन् र दुबैले एकअर्काका प्रहारलाई निस्तेज पारेको बताएका छन्।
त्यसरी प्रहार गरिएका घातक हतियारलाई आकाशमै नष्ट गर्ने प्रणालीलाई एयर डिफेन्स सिष्टम अर्थात् ‘वायु (हवाइ) प्रतिरक्षा प्रणाली’ भन्ने गरिएको छ।
भारतमा अहिले त्यो प्रणालीको ‘एस ४०० डिफेन्स सिष्टम’को चर्चा चलिरहेको छ। जसलाई भारतले केही वर्षअघि रुससँग किनेको थियो।
एयर डिफेन्स सिस्टम एक सैन्य प्रणाली हो। जसलाई यस्तै युद्धका बेला प्रयोग गरिन्छ। इजरायल अहिले यो प्रणालीको सबैभन्दा बलियो राष्ट्र मानिन्छ। यद्यपि अरु शक्ति राष्ट्रहरूसँग पनि यस्ता धेरै अत्याधुनिक प्रणालीहरू विकसित भइसकेका छन्।
यो एउटा त्यस्तो हवाइ सुरक्षा प्रणाली हो जसले अर्को पक्षका लडाकु बिमान, मिसाइल,ड्रोन अन्य हवाइ आक्रमणहरूबाट बचाउनसक्छ। यसले राडार, मिसाइल तथा गन सिस्टमको प्रयोग गरेर हवाई खतरालाई टार्न सक्छ। त्यसलाई ट्र्याक गरेर जमिनमा खस्न नपाउँदै आकाशमै त्यसलाई नष्ट पनि गर्नसक्छ।
भारतसँग रहेको एउटा हवाई प्रतिरक्षा प्रणाली (जसलाई एस ४०० नामले चिनिन्छ) को चर्चा भइरहेको छ। त्यसलाई भारतले भने ‘सुदर्शन चक्र’ नाम दिएको छ। भारतको एयर डिफेन्स प्रणाली मिश्रित छ। त्यसमा कतिपय रुस, इजरायलका प्रणालीहरू पनि जडित छन्। र भारतीय सैन्य इन्जिनियरहरूले त्यसलाई आफ्नै मौलिक प्रणालीमा पनि जोडेका छन्।
यसलाई भारतले अरु देशको तुलनामा निकै प्रभावशाली भएको दाबी गर्छ। यसलाई भारतले सन् २०१९ मा रुससँग किनेको थियो। यसलाई एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम पनि भनिन्छ।
सडकबाट ल्याउन लैजान सकिने एस ४००ले हजारौ किलोमिटर दूरीको आकाशमा रहेका मिसाइल, ड्रोन अनि लडाकु बिमानलाई पनि मार हान्नसक्छ। यो बाहेक भारतसँग बराक-८ अनि अरु पनि भारतीय सैनिकले नै डिजाइन गरेका धेरै हवाई प्रतिरक्षा प्रणाली छन्। जसले हवाई आक्रमणहरूलाई रोक्न र छेक्न सक्छ।
यसपछि पाकिस्तानले पनि चीनसँग त्यस्तैखालको अर्को सिस्टम किन्यो। त्यसलाई एच क्यू-९ एयर डिफेन्स सिस्टम भनिन्छ। पाकिस्तानको वायु रक्षा प्रणाली मुख्यत: चीन तथा फ्रान्सका प्रविधिमा निर्भर छ। पाकिस्तानसँग भएको मुख्य एयर डिफेन्स सिस्टम भनेको यही एचक्यू-९ मिसाइल सिस्टम हो जसले ३०० किलोमिटरसम्मको हवाइ खतरालाई पहिचान गर्नसक्छ। त्यसका अलावा पाकिस्तानसँग फ्रान्सबाट ल्याइएकोँ स्पाडा एयर डिफेन्स सिस्टम पनि छ। जसलाई हवाई शिविर तथा अन्य महत्वपूर्ण स्थानहरूको सुरक्षाका लागि प्रयोग गरिन्छ।
पाकिस्तानले आफूसँग कम दूरी, मध्यम तथा लामो दूरीमा पनि मार हान्नसक्ने, क्रुज अनि ब्यालेस्टिक क्षेप्यास्त्रहरू नस्ट गर्नसक्ने एयर डिफेन्स सिस्टम रहेको दाबी गरेको छ।
यस्तै एयर डिफेन्स सिस्टम प्रयोग गरेका हालका दिनमा भारत-पाकिस्तान दुबैले एकअर्काका ड्रोन तथा क्षेप्यास्त्र र कतिपय लडाकु बिमान नै नष्ट गरिदिएको दाबी गर्दै आएका छन्।
यसका अलावा दुबै राष्ट्र विश्वकै परमाणु हतियार सम्पन्न देश हुन्।
बिबिसीकाे सहयाेगमा