भारत-पाकिस्तानबीच तनाव अनि युद्धबिरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सोमबार साँझ ८ बजे उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
यो सम्बोधनमा उनले पाकिस्तानलाई मात्रै नभएर विश्वभरिका सबै शक्ति अनि आतंकवादलाई भारतको ‘असली शक्ति’ देखाइदिएको दाबी गरेका छन्।
उनले २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पूरै देश, राजनीतिक दलहरू एकजुट भएको भन्दै यस्तै एकताले आतंकवादलाई निमिट्यान्न पार्न सकिने पनि बताए।
आफ्नो सम्बोधनमा उनले पाकिस्तानसँग आतंकवादविरुद्ध अनि उसले नियन्त्रणमा लिएको भनिएको कश्मिरको बारेमा पनि वार्ता हुने पनि प्रस्ट पारे। त्यस्तै उनले पाकिस्तानले आतंकवाविरुद्ध कदम उठाउने प्रतीज्ञा नगरेसम्म उसका लागि शान्तिको कुनै पनि बिकल्प नभएको पनि चेतावनी दिए।
अहिलेका लागि पाकिस्तानमाथिको आक्रमण स्थगित मात्रै भएको भन्दै उनले अपरेशन सिन्दुर मात्रै एक आक्रमण योजना नभएर आतंकवादविरुद्धको एक भारतीय नीति भएको पनि बताए।
‘हामीले आतंकवादलाई माटोमा मिलाउनका लागि हाम्रा सबै सेनालाई पूरा छुट दिएका छौं। हाम्रा छोरी बहिनी को सिन्दुर मेटाउनु अनि भारतमाथि आँखा उठाउनुको परिणाम के हुन्छ भन्ने कुरा सायद अब सबै आतंकवादी संगठनहरूले बुझिसकेका होलान्’ मोदीले भनेका छन् ‘अहिलेलाई अपरेशन सिन्दूर होइन, मात्रै सैन्य कारबाही रोकिएको हो। पाकिस्तानको रवैया हेरेर भारत हर कदमका लागि तयार छ।’
त्यस्तै उनले आतंकवादको साथसाथ अरु कुनै पनि सम्बन्ध अघि नबढ्नेमा भारतीय प्रस्ट नीति रहेको पनि बताए।
‘भारतको मत एकदमै स्पस्ट छ कि टेरर अनि टक् एकसाथ अघि जानै सक्दैन। टेरर अनि ट्रेड एकसाथ अघि बढ्दै सक्दैन’ उनले भने ‘अनि पानी र रगत पनि एक साथ बग्न सक्दैन।’