भारतीय माओवादीका सर्वोच्च कमाण्डर मारिएको ‘अपरेशन ब्ल्याक फरेस्ट’

Break n Links
Break n Links

भारतीय सुरक्षा फौंजसँगको भीडन्तमा माओवादी आन्दोलनका शीर्ष नेता केशव राव अर्थात् बसवराजु मारिएपछि त्यसलाई सरकारले ऐतिहासिक उपलब्धी भनेको छ।

भारतीय जनता पार्टीका नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री भएलगत्तै सरकारले माओवादीमुक्त भारत अभियानको सुरुवात गरेको थियो। गृहमन्त्री अमित साहले सन् २०२६ सम्ममा भारतका सबै जिल्लाहरूबाट नक्सलवादको अन्त्य गर्ने घोषणा गरेका थिए। 

त्यहीअनुसार अहिले माओवादी प्रभावति जिल्लाहरूमा सुरक्षाकर्मीले ‘अपरेशन ब्ल्याक फरेस्ट’ चलाइरहेको छ। सुरक्षा फौंजको यही अभियानका क्रममा बुधबार छत्तिसगढको नारायणपुर, बिजापुर र दन्तेवाडाको सिमानामा भीडन्तमा भएको थियो। 

त्यसमा २७ जना माओवादी लडाकु मारिएको सुरक्षा फौंजले दाबी गरेको छ। त्यही क्रममा एकजना सुरक्षाकर्मीको ज्यान गएको छ। मारिएका २७ जना माओवादीमध्ये उनीहरूका सबैभन्दा शीर्ष नेता मानिने बसवराजु पनि मारिएको भारत सरकारले जनाएको छ। 

भारतका गृहमन्त्री अमित साहले यो आक्रमणबारे पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन्। 

‘नक्सलवादको अन्त्य गर्न सुरु गरिएको लडाईंमा एक ऐतिहासिक उलपब्धी। छत्तिसगणको नारायणपुरम एक अपरेशनमा हाम्रो सुरक्षाबलले २७ खुङ्खार माओवादीहरूलाई मारेकाछन्। जसमा माओवादी महासचिव शीर्ष नेता तथा नक्सल आन्दोलनका एउटा खम्बा नम्बाला केशव राव उर्फ बसवराजू पनि मारिएकाछन्’ उनले लेखेका छन् ‘नक्सलवादविरुद्ध भारतको लडाईंका तीन दशकमा यस्तो पहिलोपटक भएको छ कि हाम्रो सुरक्षा बलले पहिलोपटक महासचिवस्तरका नेतालाई मारेको छ। यो ठूलो र ऐतिहासिक सफलताका लागि हाम्रा बहादुर सुरक्षाकर्मीहरूको सह्राना गर्दछु…।’ 

यसमा संयुक्त सुरक्षाफौजले लगभग ५० घण्टासम्म निरन्तर अपरेशन चलाएको थियो। 

गृहमन्त्री शाहका अनुसार यो अपरेशनका क्रममा ५४ जना नक्सलवादीहरू गिरफ्तार गरिएको छ र ८४ जनाभन्दा धेरैले आत्मसमर्पण गरेका छन्। 

अहिलेसम्म त्यहाँका लगभग ६०० गाउँहरू माओवादीमुक्त भएको पनि सरकारले दाबी गरेका छ। 

करिब ४ दशकदेखि भारतले झेल्दै आएको सबैभन्दा जटिल र विवादयुक्त आन्तरिक समस्या हो ‘नक्सलवाद’ राज्यविद्रोहमा उत्रिएका केही व्यक्तिहरूले उग्रमाओवादको आदर्शमा यो अभियान चलाएका थिए। त्यसयता भारतका लगभग १२६ जिल्लामा यो अभियान फैलिसकेको थियो। 

तर भारत सरकारले भने उनीहरूसँग कुनै सम्झौता गर्न चाहने र बरु सबैलाई बन्दुकबाटै सिध्याउने नीति लियो। त्यहीअनुसार यसपालि सरकारले सन् २०२६ सम्ममा पूरै भारतलाई माओवादी मुक्त बनाउने रणनीति लिएको छ। 
सन् २०१८ सम्म १२६ जिल्लामा माओवादीको प्रभाव थियो। अहिले ३८ जिल्लामामात्रै माओवादीको प्रभाव रहेको भारत सरकारले जनाएको छ। आगामी वर्षभित्र यी सबै जिल्लालाई माओवादी मुक्त गर्ने रणनीतिअनुसार सुरक्षाफौंजलाई अहिले कडारुपमा परिचालन गरिएको छ। 

यद्यपि माओवादीसँगको यो लडाईंमा भारतीय सुरक्षा फौंज पटक पटक विवादित हुँदै आएको छ। कहिले नक्कली भीडन्त र भूठभेडका नाममा त कहिले नक्कली इन्काउन्टरजस्ता कथाकहानीले भारतीय सुरक्षाकर्मीको चर्को आलोचना पनि हुँदै आएको छ। 

को हुन् बसवराजू? 
यो आन्दोलनमा लाग्नुअघि उनी प्रविधि क्षेत्रका एक इन्जिनियर हुन्। कुनै बेलाका कबड्डी र भलिवलका राष्ट्रिय खेलाडीसमेत रहेका बसवराजू कलेज अध्ययनकै क्रममा कम्युनिष्टतिर ढल्किएका थिए। 

सन् १९८० मा कम्युनिस्ट पार्टी अफ इन्डियाले सुरु गरेको पिपुल्व वारमा उनले विद्यार्थी परिचालनको जिम्मेवारी निभाएका थिए। नक्सल आन्दोलन हुँदै एक सर्वोच्च कमाण्डरसम्मको जिम्मेवारीको यात्रा यहीँबाट सुर भयो। 

आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको एक सामान्य परिवारमा जन्मिएका उनको नक्सल आन्दोलमा अनेक नामहरू छन्। राज्यविरुद्ध भूमिगत यो युद्धमा उनलाई गगन्ना, प्रकाश, कृष्णा, विजय, केशव, बिआर, दरपु, नरसिंह रेड्डीजस्ता नामले पनि चिनिन्छ। 

बसवराजु माओवादी आन्दोलनका एक शीर्ष नेतामात्रै होइनन्, उनी यो आन्दोलनका आफैमा एक रणनीति पनि हुन्। सिङ्गो माओवादी युद्धका उनी एक चामत्कारिक मस्तिष्क पनि मानिन्छन्। 

सन् २००४ पछि भारतमा माओवादी आन्दोलनले बेहोर्नुपरेको सबैभन्दा ठूलो क्षति भएको छ बसवराजूको मृत्यु। याेसँगै माओवादी आन्दाेलनकाे मेरुदण्ड भाँचिएकाे विश्लेषण पनि भारतीय सरकारले गरेकाे छ। 

प्रकाशित मिति: : 2025-05-22 09:37:00

प्रतिकृया दिनुहोस्