हमासका शीर्ष नेता मारिएको दाबी, गाजा कब्जा गरेरै छोड्ने इजरायालको ‘वाचा’

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामाथि नियन्त्रण लिएरै छोड्ने बाचा फेरि दोहोर्‍याएका छन्। ब्यापक अन्तर्राष्ट्रिय दवाबका वाफजुद सैन्य आक्रमण जारी राखेको इजरायली सेनाले गाजाका सबैजसो क्षेत्रमा ‘अपरेशन’ चलाइरहेको पनि उनले बताए।

यसबीचमा नेतन्याहूले हमासका शीर्ष नेता मोहम्मद सिनवार मारिएको दाबी पनि गरेका छन्। तर हमासले यसको आधिकारिक पुष्टी गरिसकेको छैन। हमासका नेताहरू लुकेर बसेको भन्दै गत सातादेखि इजरायली सेनाले गाजा क्षेत्रका अस्पताल र विद्यालयहरूमाथि भीषण आक्रमण गरिरहेका छन्। त्यही आक्रमणका क्रममा ती नेता मारिएको उनले दाबी गरेका छन्।

बुधबार एउटा पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहूले कुनै पनि हालतमा गाजामाथि नियन्त्रण गरेरै छोड्ने भन्दै यसलाई इजरायलको निर्णायक आक्रमण भनेका छन्। आफ्नो राष्ट्रिय अस्तित्वकोका लागि ‘आत्मरक्षाको अधिकार’ भन्दै उनले कुनै अन्तर्राष्ट्रिय शक्तिहरूले धम्की दिँदैमा इजरायल पछि नहट्ने पनि बताए।

‘सम्भवत: हाम्रा बहादुर सैनिकहरूले सिनवारलाई मारिदिएका छन्’ नेतन्याहूले भनेका छन् ‘अब गाजालाई पूरै नियन्त्रणमा लिएरमात्रै इजरायली सैनिकको यो मिसन रोकिन्छ।’

मोहम्मद सिनवार पछिल्लोपटक हमासले चुनेका शीर्ष नेता हुन्। यसअघि उनका दाजु याह्या सिनवार पनि गत अक्टोबरमा इजरायली सैनिकको आक्रमणमा परेर मारिएका थिए।

यसअघि युरोपेली राष्ट्रका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायललाई तत्काल युद्ध बिराम गर्न चेतावनी दिएका थिए। गाजा क्षेत्रमा मानवीय संकट बढिरहेको भन्दै उनीहरूले तत्काल युद्धबिराम नगरेर इजरायलविरुद्ध थप प्रतिबन्धहरू लगाउन सकिने धम्की पनि दिएका थिए।

तर इजरायलले भने कसैको धम्कीका अघि आफ्नो सैन्य आक्रमण नरोकिने भन्दै बरु हमासलाई सम्झाउन पनि भनेको थियो।

सन् २०२३ मा हमासले अचानक इजरायलमाथि सयौं क्षेप्यास्त्रहरू प्रहार गरेपछि इजरायले युद्ध सुरु गरेको थियो। त्यो बेला १० जना नेपाली मारिएका थिए। त्यस्तै हमासले कैयौ नागरिकलाई बन्धक पनि बनाएको छ। नेपाली विद्यार्थी बिपीन जोशी पनि अझै हमासकै नियन्त्रणमा छन्। तर उनको अवस्थाबारे अहिलेसम्म केही पनि विवरणहरू छैनन्। 

अहिलेसम्म याे युद्धमा ५५ हजारभन्दा धेरै मानिस मारिएका छन्। लाखौं घाइते र बिस्थापित भएका छन्। त्यस्तै लाखाैं मानिस भाेकमरीकाे संकटमा छन्। इजरायलले गाजाक्षेत्रमा खाद्यान्न र राहतमा पनि नाकानबन्दी गरेर आक्रमण गरिरहेकाे छ। गत सातामात्रै ५०० भन्दा मानिस इजरायली आक्रमणमा मारिइसकेका छन्। 

इजरायली प्रधानमन्त्री नेतन्याहूले आफूले पनि युद्धमात्रै नचाहेको भन्दै आफ्ना सबै बन्धकहरूलाई बिनाशर्त छोड्न हमास तयार भए तत्कालै युद्ध रोकिने बताएका छन्। 

प्रकाशित मिति: : 2025-05-22 08:24:00

प्रतिकृया दिनुहोस्