हृदयन्द्रलाई राजा मान्न देउवा तयार भएकै हुन्? के भन्छ कांग्रेस?

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई जोडेर राजसंस्थाका बारेमा प्रकाशित भएका समाचारको खण्डन गरेको छ।

सभापति शेरबहादुर देउवा संवैधानिक राजतन्त्रप्रति सकारात्मक रहेको र पूर्वाराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्रलाई संवैधानिक राजा स्वीकार्न तयार रहेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाको धारणा भन्दै राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको बताएका छन्।

उनले सभापति देउवा गणतन्त्रको संरक्षण र सम्वर्द्धनमा प्रतिवद्ध रहेको र यसमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वर्द्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ।’

उनले कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्थाबारे देउवाको धारणा भन्दै सञ्चार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको बताएका छन्। देउवाले कहिकतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत रहेको कांग्रेसको टिप्पणी छ।

कांग्रेसले भनेको छ, ‘जो सुकैले यस्तो कार्य गरेको भएतापनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ। नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई रक्षा गर्न प्रतिवद्ध छ।’

कांग्रेसले यस्ता समाचारप्रति विश्वास नगर्न अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न संचारकर्मीहरूलाई आग्रहसमेत गरेको छ।

प्रकाशित मिति: : 2025-05-22 16:20:00

प्रतिकृया दिनुहोस्