नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटवार्तामा संसदको अवरोध खुलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने विपक्षीहरूको अडानले संसद अवरुद्ध छ। भोलि जेठ १५ गते संघीय संसदमा बजेट अनिवार्य पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ।
सोही कारण संसदको अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार गृहमन्त्रीले राजीनामा दिएर बाधा फुकाउन गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।
स्रोतका अनुसार गृहमन्त्रीको राजीनामा कुनै हालतमा सम्भव नभएको निष्कर्ष निकालिएको छ।
छलफलका क्रममा लेखकले ओली देउवासँग उक्त प्रकरणबारे विस्तारमा बताए। उनले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पत्रपत्रिकाले लाञ्छना लगाएको र सामाजिक सञ्जालमा अनावश्यक आफ्नो नाम जोडेर खेदिँदा आफू दुःखी भएको बताएका छन्।
स्रोतका अनुसार छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले आफ्नो कारण राजनीतिक समस्या आउने भए राजीनामा दिन तयार रहेको बताएका थिए।
उनले भनेका छन्, ‘म अनावश्यक झमेलामा फस्ने मान्छे होइन, यस्तो प्रकरणमा संलग्न हुने त परको कुरा सोच्न पनि सक्दिनँ। मेरै कारण समस्या भए राजीनामा दिन तयार छु, जुनसुकै तराजुमा जोखिन तयार छु।’
तर, राजीनामामा ओली र देउवाको एक मत देखियो। उनीहरूले कर्मचारीको गल्तीमा गृहमन्त्रीले राजीनामा दिँदा गलत नजिर बस्ने भएकोले राजीनामा लागि हतार नगर्न भनेका स्रोतले बतायो।
स्रोतका अनुसार ओलीले ‘आजको माहोल हेरौं, त्यसपछि फेरि छलफल गरौंला’ भन्दै राजीनामा नगर्न सुझाव दिएका छन्।
ओलीले रास्वपाको अवरोध उसको सभापतिका कारण स्वाभाविक भएपनि प्रचण्डको पछिल्लो गतिविधिहरूबारे असन्तुष्टि जनाएका छन्। उनले प्रचण्डले धुमिल अवस्थामा चान्स मार्न खोजेको आरोप लगाएका छन्।
स्रोतका अनुसार ओलीले लेखकलाई सम्भव भएसम्म प्रचण्ड वा माओवादी नेताहरूसँग आफ्नो कुनै संयन्त्रमार्फत कुराकानी गर्न सुझावसमेत दिएका छन्।
यसअघि देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको बैठकमा पनि लेखकले पार्टीलाई अप्ठ्यारो पर्छ भने राजीनामा दिन तयार रहेको बताएका थिए। तर नेताहरूले उनलाई राजीनामा नगर्न र आफूहरू साथ दिन तयार रहेको ढाडस दिएका थिए।