राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन्।
बिहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए।
उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो। भर्खर प्रारम्भ मात्र भएको छ। गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ। यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ। जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन्। आज यो पनि प्रमाणित भएको छ।’
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेताहरूले जनतालाई शोषण गरेर ५-१० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेको अवस्थामा नेपाली जनता भने भोकभोकै बस्नु परेको बताए।
उनले भने, ‘सारा नेपाली जनताले देखेका छन् यी सिमित केही नेताहरूले जनतालाई शोषण गरेर सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरू ५, १० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेका छन्। नेपाली जनता भने भोकभोकै बसिरहेका छन्।’