चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धबारे छानबिन
अमेरिकाले चिनियाँ विद्यार्थीहरूको भिसा जाँचलाई निकै कडा बनाउने घोषणा गरेको छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका सबै विद्यार्थीका लागि अब अमेरिकाले भिसा नदिने निर्णय गरेका थिए।
त्यसलगत्तै अब अमेरिकी प्रशासनले विदेशी विद्यार्थीहरूको भिसासँगै उनीहरूको पृष्ठभूमिको चेकजाँच सुरु गरेको छ। यो अभियानमा खासगरी चिनियाँ नागरिकको भिसा र उनीहरूको पृष्ठभूमि चेकजाँचलाई कडा बनाइएको छ। विदेशमन्त्री मार्को रुबियोले खासगरी चिनियाँ विद्यार्थीहरूमाथि छानबिन सुरु भएको बताएका छन्। उनका अनुसार त्यस्ता विद्यार्थीहरू चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध छन् वा छैनन्, उनीहरू त्यसमा कति सक्रिय छन् भनेर छानिबिन हुनेछ। त्योसँगै अमेरिकामा रहेका हङकङका विद्यार्थीहरूबारेमा पनि छानबिन हुनेछ।
‘हामीले ती मान्छेहरू खोजी गरिरहेका छौं जसको चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध छ’ रुबियोले भनेका छन् ‘यो गहन छानबिनपछि अमेरिकाले ती देशका लागि भिसा नीतिमा पनि परिमार्जन गर्नसक्नेछ।’ याेसँगै भिसा रद्द हुनसक्नेमध्ये सबैभन्दा जाेखिममा चिनियाँ विद्यार्थी नै हुनेछन्।
हाल कम्तीमा ८० हजार विद्यार्थीहरू अमेरिकाका विभिन्न कलेजहरूमा अध्ययनरत छन्।
चीन-अमेरिकाबीचको सम्बन्धको टकराव पहिलादेखिकै हो। अघिल्लो कार्यकालका बेला चीनबाटै कोरोना भाइरस फैलिएको भन्दै ट्रम्पले चिनप्रति निकै आक्रामक नीति तय गरेका थिए। दोस्रो कार्यकाललगत्तै ‘भन्सार कर’को नीतिमा सबैभन्दा बढी तिक्तता चीनसँगै रह्यो।
योसँगै ट्रम्पले लिएका कतिपय नीति र निर्णयहरूमा कहिँ न कतै चीनलाई नै टार्गेट गरिरहेका हुन्छन्।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर रहेका सबै अमेरिकी दूतावासहरूलाई भिसा आवेदनहरू बन्द गर्न निर्देशन दिएका थिए।
यद्यपि यो आदेश केही समयका लागिमात्रै भनिएको छ तर कति समयका लागि बन्द गरिएको भनेर भनिएको छैन।
अब कुनै पनि दूतावासहरूले विद्यार्थीका लागि नयाँ भिसा आवेदन लिने छैनन्। पहिला नै भिसा एप्लाइ गरेका विद्यार्थीहरूको सामाजिक सञ्जालमाथि ब्यापक छानबिन भइरहेको पनि ट्रम्प प्रशासनले जनाएको छ। यसका कारण पहिला नै आवेदन दिइसकेकाहरूको पनि भिसा अनिश्चित हुनेछ। अहिलेका लागि भिसा आवेदन दिइसकेकाहरूको अन्तर्वार्ता पनि रोकिनेछ।
अमेरिकाका सयौं विश्वविद्यालय तथा कलेजहरू यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शुल्कबाटै चल्दै आएका छन्। यसअघि ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई सरकारी अनुदान कटौती र विदेशी विद्यार्थी भर्ना गर्न रोकेसँगै अब सबै विद्यार्थी भिसा बन्द गर्ने आदेश दिएका हुन्।
योसँगै अमेरिकी शिक्षा नीति र त्यसबाट पर्ने असरबारे बहस हुन थालेको छ।
ट्रम्पको यो आदेशसँगै अमेरिकी विदेश मन्त्रालयले आफ्ना सबै दूतावासहरूलाई पत्र लेखेको छ। त्यसमा अर्को आदेश नआएसम्मका लागि विद्यार्थी भिसाका सबै प्रक्रियाहरू बन्द गर्न भनिएको छ।
अमेरिकाको यो कदमसँगै अमेरिका पढ्न चाहने विश्वभरका हजारौं विद्यार्थी प्रभावित हुनेछन्। त्योसँगै अमेरिकामा सञ्चालित विश्वविद्यालय र कलेजहरू पनि प्रभावित हुनेछन्।
यसअघि अमेरिकाले सरकारको शिक्षा विभाग पनि खारेज गरिसकेको छ। र विश्वविद्यालयहरूलाई दिँदै आएको सयौं मिलियन डलर अनुदान पनि रोकिसकेको छ। त्योसँगै सयौं विद्यार्थीको भिसाहरू पनि रद्द गरिएको थियो भने कैयौलाई देश निकाला पनि गरिएको थियो।
यद्यपि यस्ता कदमहरू रोक्नका लागि अदालतले ट्रम्प प्रशासनलाई आदेश त दिइसकेको छ। तर पनि ट्रम्पले शिक्षा क्षेत्रमा नयाँ नयाँ हलचल ल्याइरहेका छन्। यसअघि अनुदान रोकेको र विदेशी विद्यार्थी भर्ना रोकेको भन्दै हार्वर्ड विश्वविद्यालयले पनि अदालतमा मुद्दा हालेको छ। योसँगै ट्रम्प प्रशासन र विश्वविद्यालयबीच गहिरो विवाद सुरु भएको छ। त्यसको प्रतिक्रियामा ट्रम्प प्रशासनले हार्वर्डको सम्बन्धन प्राप्त अरु कलेजहरूको अनुमति रद्द गर्नेसम्मको तयारी गरेको छ।