गृहमन्त्रीले राजीनामा नदिने ओलीको ठहर, देशभर यातायात ठप्प (भिडियाे समाचार)

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको जिकिर गरेका छन्।

सोमबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन्। 

केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको बताउँदै भाेलिदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने उनकाे दाबी थियाे।  

भिडियो-

000

यातायात व्यवसायीहरूले राइड सेयरिङको विरोधमा देशभर यातायात ठप्प गरेका छन्

राइड सेयरिङलाई सञ्चालन गर्न बन्देज लगाउनुपर्ने मागसहित उनीहरू सवारी साधन थन्क्याएर सडकमा प्रदर्शन गरेका हुन्। 

तर, काठमाडौँ उपत्यकामा यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन हतियारधारी प्रहरी बसेर साझा यातायात भने चलाइएकाे थियाे। 

000

नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको उपमहासचिव वर्षमान पुनले बताए।

गृहमन्त्रीकाे राजीनामा विपक्षीले मात्र नभइ आम मिडिया र जनसमूदायले पनि मागिरहेकाे उनकाे भनाइ थियाे। 

000

सरकारले बजेटमार्फत ढुंगा–गिट्टी निर्यात खुलाउने निर्णय गरेपछि यसविरुद्ध सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी रिट निवेदन पेस भएको छ। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सर्वोच्चकै परमादेश अवज्ञा गरेको भन्दै उनीहरुलाई तत्काल पदमुक्त गर्न माग गर्दै रिट पेस गरेका हुन्। 

उक्त रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले जानकारी दिए। 

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्व्मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको हो। 

उनले आर्जन गरेको एक करोड तिरनब्बे लाख उन्ननब्बे हजार ६ सय सरतीस बराबरको सम्पत्तिमध्ये पचासी लाख ५१ हजार ३ सय ३४ रुपैयाँको वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।

000 

 उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले जनाएको छ।

आइतबार साँझ ७ बजे नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा अवस्थित एक सैनिक शिविरमा भारी वर्षापछि आएको पहिरोले आक्रमण गर्दा ३ सैनिकको मृत्यु भएको हो।

अहिले उक्त पहिराेमा परेर बेपत्ता ६ जना सैनिककाे खोजी तथा उद्धार कार्य भइरहेकाे छ। 

प्रकाशित मिति: : 2025-06-02 20:45:00

प्रतिकृया दिनुहोस्