युवाहरूलाई ओलीको प्रश्नः उद्यमशीलताको विकास नगरी कहाँबाट आउँछ रोजगारी?

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सीमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए नभएको बताए।

उनले भने, ‘मैले धेरै पहिलादेखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ। उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँबाट आउँछ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटायर्ड होला र मौका पाउँला भनेर बस्नुपर्छ। यो त सीमित हो। एक प्रतिशतले पाउने हो जागिर। त्यसैले उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाय छैन।’

यसको साथै, उनले पूर्वाधारबिना विकास सम्भव नहुने भन्दै पहिला न्यूनतम पूर्वाधारको विकास आवश्यक रहेको बताए।
 
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछः प्रधानमन्त्री

उनले शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताए।

उनले भने, ‘युवाहरूले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न। परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ। असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठिक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन्। अब युवाहरूले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुुपर्छ। उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरु विदेश जाने क्रम रोक्नुुपर्छ।’

उनले युुवाहरूले रचनात्मकतामा निरन्तरता दिनुुपर्नेमा जोड दिँदै सुरङ्गमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने पनि बताए।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्वर्द्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए।

उक्त कार्यक्रममा ‘आइडिया स्टुडियो’ का संस्थापक डा. छिरिङ लामा र काठमाडौं मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरूको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए।

प्रकाशित मिति: : 2025-06-04 21:03:00

प्रतिकृया दिनुहोस्