अमेरिकामाथि ‘आतंकवादी आक्रमण’को खतरा रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका छिर्न नदिने भएका छन्। एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ‘अमेरिका र अमेरिकीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै’ ती देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाएको बताएका छन्। प्रतिबन्धितमध्ये दक्षिण एशियाका दुई दक्षिण एशियाली राष्ट्रहरू हुन्।
ट्रम्पको आदेशअनुसार अब म्यान्मार, अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान तथा यमनका नागरिक अब अमेरिका छिर्न पाउने छैनन्। त्यस्तै सात देशहरू भेनेजुएला, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो र तुर्कमेनिस्तानका नागरिकमाथि आंशिकरुपमा प्रतिबन्ध लागेको छ।
यो प्रतिबन्ध यही जुन ९ देखि लागु हुनेछ। त्योभन्दा अघि नै भिसा लागेका व्यक्तिहरू तथा ग्रीन कार्ड पाएका र केही विशिष्ट श्रेणीका व्यक्तिहरूलाई भने यो प्रतिबन्धमा छुट मिल्नेछ।
नयाँ कार्यकारी आदेशबारे बताउँदै ट्रम्पले एउटा भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा उनले अमेरिकाको भीसा पाएर छिरेका ‘खतरनाक देशका मानिसहरूबाट अमेरिकामा’ निरन्तर ‘आतंकवादी आक्रमण हुँदै आएकोले यस्तो निर्णय गरिएको बताएका छन्।
उनले यसअघि जो बाइडन राष्ट्रपति हुँदा उनले लिएको ‘ओपन डोर पोलिसी’का कारण अमेरिका असुरक्षित हुँदै गएको पनि आरोप लगाएका छन्।
यसअघि अमेरिकाका एकजना उच्च सैन्य अधिकारीले केही अफ्रिकी आतंकवादी समूहहरूले अमेरिकामाथि आक्रमण गर्ने तयारी गरिरहेको खुलासा गरेका थिए। केही गोप्य सूचनाहरूका आधारमा उनले ती आतंकवादी समूहहरू समयको पर्खाईमा भएको र उपयुक्त मौका छोपेर अमेरिकामाथि भीषण आक्रमणको तयारी गरिरहेको भन्दै चेतावनी दिएका थिए।
केही दिनअघिमात्रै कोलोराडो राज्यको बोल्डरमा एउटा आक्रमण भएको थियो। ‘फायर बम’धारी केही व्यक्तिले अन्धाधुन्ध मानिसलाई आगो लगाइदिएका थिए। त्यसबाट ८ जना गम्भिर घाइते भएका थिए। ‘स्वतन्त्र प्यालेस्टाइन’को नारा लगाउँदै उनीहरूले मानिसलाई आगो झोसेका थिए।
त्यसलाई ट्रम्पले आतंकवादी आक्रमण भनेका छन्।
‘त्यहाँ आक्रमण गर्ने त्यस्ता मानिसहरू हुन् जो बिना चेकजाँच अमेरिका छिरेका थिए र उनीहरूको भीसा अवधि सकिएर पनि अमेरिकी बसिरहेका थिए। हामी त्यस्ता मानिसहरू चाहँदैनौं’ ट्रम्पले भनेका छन् ‘अहिले पनि अमेरिकामा त्यस्ता लाखौं अवैध आप्रवासीहरू छन्। जसबाट अमेरिकाले पटक पटक आतंकवादी आक्रमण खेप्दै आएको छ।’
ह्वाइट हाउसले ट्रम्पको यो घोषणा ‘चुनावी अभियानका क्रममा अमेरिका र अमेरिकीप्रति गरिएको सुरक्षाको बाचा’का रुपमा भएको जनाएको छ।
दाेस्राे कार्यकालकाे सुरुवातसँगै कैयाै ऐतिहासिक आदेशहरू जारी गर्दै आएका ट्रम्प यसपालि आप्रवासीप्रति पहिलाभन्दा झन् आक्रामक र कठाेर देखिएका छन्। यसअघि नै उनले सबै देशबाट अमेरिका पढ्न जाने विद्यार्थीहरूलाई अबदेखि भिसा नदिने निर्णय गरिसकेका छन्।