झापाको गौरादह नगरपालिकाका किसानहरू आन्दोलित भएका छन्।
किसान संघर्ष समिति, जोरपोल उच्च कृषक समूह, कृषक आन्दोलन संघर्ष समिति गौरादह नगर मूल कृषक समूह लगायतका संगठनहरूले बिहीबार संयुक्त आन्दोलन गरेका हुन्।
उनीहरूले दिउँसै राँके जुलुस निकालेर नगरपालिकालाई दवाब दिएका छन्।
गौरादह-३ धोबिनिया चोकबाट सुरु भएको जुलुस करिब एक किलोमिटर टाढा रहेको गौरादह नगरपालिकाको कार्यालयसम्म नाराबाजी गर्दै पुगेको थियो। उक्त क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत हो।
आन्दोलनकारी किसानहरूले नगरपालिकाको मूल गेटमा धक्का-मुक्का गर्दै प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडपको अवस्था सिर्जना भएको थियो। करिब १० मिनेटसम्म प्रहरी र किसानबीच घम्साघम्सी भएको थियो।
त्यस क्रममा किसान आन्दोलन संघर्ष समितिका संयोजक इन्द्रप्रसाद पोख्रेलको लुगासमेत च्यातिएको थियो।
विवादपछि प्रहरीले अन्ततः किसानहरूलाई नगरपालिकाभित्र प्रवेश गर्न दिएको थियो। करिब एक घण्टासम्म नाराबाजी गरेपछि मेयर छत्रपती सुवेदीले प्रतिनिधिमण्डललाई कार्यकक्षमा छलफलका लागि बोलाएका थिए।
तर, किसानहरूले ‘जनताको प्रतिनिधि भए बाहिर आएर सार्वजनिक रूपमा बोल्नुपर्छ’ भन्ने अडान राख्दै ५ मिनेटको समय दिएका थिए।
मेयर सुवेदीले आफू किसानका मागबारे अनविज्ञ रहेको बताए पनि किसानहरूले गत जेठ २६ गते नै उपमेयर जलवर्षा राजवंशीलाई ज्ञापनपत्र बुझाइसकेको र त्यसको दर्ता नम्बर समेत प्रस्तुत गरेका थिए। त्यसपछि मेयर सुवेदी बाहिर आएर किसानहरूसँग संवाद गरेका थिए।
किसानहरूले प्रमुख मागहरूमध्ये अनुदान, बिउबिजन, सिंचाइ सुविधा र किसानका हकहितसम्बन्धी योजना तत्काल कार्यान्वयन गर्नुपर्ने जोड दिएका छन्। आन्दोलनले स्थानीय तहसँग किसानहरूको बढ्दो असन्तोष उजागर गरेको छ।