ट्रम्पको धम्कीपछि इरानले भन्यो- युद्ध सुरु भइसक्यो, अब रोकिन्न

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले इजरायलसँग युद्ध सुरु भइसकेको भन्दै इजरायलसँग अब कुनै पनि ‘सम्झौता’ हुन नसक्ने चेतावनी दिएका छन्। 

इजरायललाई ‘यहुदी आतंकवादी’ भन्दै खामेनेईले त्यो यहुदी शासन नष्ट गर्नका लागि अब ‘हैदर’को नाममा इरानले युद्ध सुरु गरिसकेको बताएका हुन्। हैदर भनेको एक बहादुरको प्रतीक मानिन्छ। खासगरी शिया मुस्लिम समुदायले ‘हैदर अली’का लागि यो सम्बोधन प्रयोग गर्छन्। जसलाई उनीहरूले इमाम र पैगम्बर मोहम्मदको अवतार ठान्छन्। 

अहिले इरानका सर्वोच्च नेता खामेनेई कुनै सुरक्षित बङ्करमा लुकेका छन्। उनले आफ्ना सामाजिक सञ्जालहरूमार्फत युद्धका बारेमा यो जानकारी सार्वजनिक गरेका हुन्। यसअघि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले खामेनेईको हत्या गर्ने योजना बनाइसकेका थिए। त्यो योजनाबारे थाहा पाएपछि उनलाई इरानको निकै सुरक्षित ठानिने बङ्करभित्र राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनेईको हत्या योजना तत्कालका लागि रोकिदिएका थिए। 

इजरायल र इरानबीच युद्ध चर्किन थालेपछि ट्रम्प क्यानडामा चलिरहेको जी सेभन राष्ट्रहरूको बैठक छोडेर उनी ह्वाइट हाउस फर्किसकेका छन्। 

उनले पत्रकारहरूसँग कुरा गर्दै वार्ता र सम्झौताका लागि अमेरिका सधैं खुल्ला रहेको भन्दै उनले तत्काल इरान वार्तामा आउने संकेत आफूले नदेखिरहेको बताएका थिए। ‘यदि त्यस्तो (वार्तामा आउने) भयो भने त्यो सबैका लागि सबैभन्दा राम्रो हुनेछ’ ट्रम्पले भनेका थिए। 

त्यसपछि उनले इरान र त्यहाँका नेताहरूलाई सम्बोधन गर्दै ‘आत्म समर्पण वा विनश’मध्ये एक विकल्प छान्न चेतावनी दिएका थिए। खामेनेईलाई पनि कडा धम्की दिँदै सामाजिक सञ्जालमा सन्देश लेखेका थिए। 

‘हामीलाई राम्रोसँग थाहा छ कि इरानका सर्वोच्च मानिने नेता कहाँ लुकेका छन् भनेर। हाम्रो लागि उनी निकै सजिलो निशाना हुन्। अहिले भने उनी सुरक्षित छन्’ ट्रम्पले लेखेका छन् ‘हामी उनलाई मार्न चाहिरहेका छैनौं। कम्तीमा अहिले त त्यस्तो हुँदैन। तर हामी थप आम नागरिक मरिरहेको पनि पनि हेर्न चाहन्नौं। अब यो सह्यै हुँदैन।’  
 

प्रकाशित मिति: : 2025-06-18 08:54:00

प्रतिकृया दिनुहोस्