यी हुन् नीति तथा कार्यक्रममा गरिएका एक बर्षे वाचा

तस्बिरः सेतोपाटी

सरकारले नीति तथा कार्यक्रम मार्फत् एक दर्जन बढी आयोजना र कार्यक्रमहरु बर्षदिनभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। यी मध्ये केही भने सरकारले पोहोर सालकै प्रतिबद्धता पुरा नभएपछि दोहोर्‍याइएको छ।

सरकारले नीति तथा कार्यक्रममा माथिल्लो  तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा आगामी बर्ष भित्र जोडिसक्ने उल्लेख गरेको छ। गत बर्षको बजेटमा पनि यो आयोजना एक बर्ष भित्र सक्ने दाबी थियो।

त्यस्तै सरकारले 'आगामी आर्थिक बर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न' गर्ने जनाएको छ। गतबर्ष पनि मेलम्चीको पानी राजधानीमा ल्याउने दाबी बजेटमा थियो। तर इटालीको ठेकेदार कम्पनीले छाडेपछि मेलम्ची आयोजनाको हेडवर्क्सको काम सुरु नै हुन सकेको छैन। सुरुङ समेत सम्पन्न हुन बाँकी छ।

सरकारले गत बर्ष नै प्रधानमन्त्री रोजगार कार्यक्रमम सुरु गरेको थियो। यसबर्ष सरकारले यही कार्यक्रम मार्फत् रोजगारी सिर्जना गर्ने दाबी गरेको छ। 'सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी बर्ष थप ५ लाख रोजगारी सिर्जना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

सरकारले यो बर्ष भित्रै हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्‍याउने वाचा दोहोर्‍याएको छ। अघिल्लो बर्षमासमेत हुम्ला र डोल्पा सदरमुकामलाई सडक सञ्जालमा जोड्ने वाचा बजेटमा गरिएको थियो।

सरकारले नीति तथा कार्यक्रममा 'आगामी बर्ष १ हजार मेगावाट विद्युत थप गरिने' जनाएको छ।

प्रकाशित मिति: : 2019-05-04 00:59:28

प्रतिकृया दिनुहोस्