भारतीय सेना भन्छ- 'भेटियो यतिको पाइला' : नेपाली सेना भन्छ- 'यतिको हैन भालुको'

भारतीय सेनाले केही समयअघि मकालु हिमालमा यतिको पद्चिन्ह फेला परेको भनेर गरेको दावीलाई नेपाली सेनाले ठाडै अस्विकार गरेको छ।

नेपाली सेना तथा नेपाल वन्य जीव तथा राष्ट्रिय उद्यान विभागका महानिर्देशक मानबहादुर खड्काले भारतीय अभियान दलको दावीलाई अस्विकार गरेका हुन्।खड्काले हिउँमा भेटिएको पद्चिन्ह हिमाली भालुको भएको बताए।

यसैगरी नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाँडेले पनि भारतीय सेनाको  दाबी अस्वीकार गरेका छन्। उनले ३–४ वर्ष अगाडि फ्रेन्च अभियान दलका सदस्यले पनि यस्तै निशान भेटेको जानकारी दिदै त्यतिबेला पनि अनुसन्धानबाट भालुको खुट्टाको निशान प्रमाणित भएको बताए।

यसअघि भारतीय सेनाले गत सोमबार आफ्नो पर्वतारोहण दलले यतिको पद्चिन्ह फेला पारेको दावी गर्दै फोटो सार्वजनिक गरेको थियो। भारतीय सेनाको पर्वतारोहण दलले ९ अप्रिलमा मकालुको यात्रा सुरु गरेको थियो। यस क्रममा उसले ३२ इन्ची लामो र १५ इन्ची चौडाई भएको विशाल पद्चिन्ह फेला पारेको थियो। यसैको आधारमा भारतीय सेनाले यति भएको दावी गरेको थियो। 

विश्वको पाँचौ अग्लो हिमाल मकालुको आधार शिविर नजिक ठूलो संख्यामा हिमाली भालु बसोबास गर्ने गरेका छन्। तर, यही क्षेत्रमा हिममानव  यतिको अस्तित्वलाई लिएर दशकौदेखि विभिन्न अड्कलबाजी चल्दै आइरहेको छ। 

प्रकाशित मिति: : 2019-05-04 09:52:46

प्रतिकृया दिनुहोस्