पाकिस्तानी रेलमा आगलागी: मृत्यु हुनेको संख्या ७४ पुग्यो(अपडेट)

तस्बिरः एजेन्सी

पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । 

 दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।

रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए । रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार हताहत हुने मानिसको सङ्ख्या अझ बढ्न सक्नेछ।

“दुईवटा स्टोभ पड्कि ए। उनीहरू खाना पकाउँदै थिए । उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,” रेलमन्त्रीले भने । हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ ।

यस घटनामा घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने आशङ्का गरिएको पनि समाचारमा उल्लेख गरिएको छ ।

 
 
प्रकाशित मिति: : 2019-10-31 23:26:09

प्रतिकृया दिनुहोस्