श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त

तस्बिरः एजेन्सी

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गरेका छन्। त्यसैगरी उनले अरु तीन जनालाई उपमन्त्रीका रुपमा नियुक्त गरेका छन्।

उनीहरुलाई संसदको नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्री परिषद्मा समावेश गरिएको हो।उनीहरुलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा सपथ गराइएको थियो।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नयाँ राज्य मन्त्रीमध्ये चमाल राजापाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ। केहेलिया रामबुक्वेल्ला लगानी प्रबद्र्धन राज्यमन्त्री बन्नु भएको छ भने अरुणीका फर्नान्डोलाई पर्यटन प्रबद्र्धन राज्यमन्त्री बनाइएको छ।

राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीमा भने केही दिन अगाडि सहोदर दाइ एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई बनाएका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएका महिन्दा राजापाक्षे यसअघि झण्डै दश वर्ष राष्ट्रपति थिए। सन् २००५ देखि २०१५ सम्म उहाँले राष्ट्रपतिको रुपमा श्रीलंकामा शासन गरेका थिए। अघिल्लो बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामा दिएपछि महिन्दा राजापाक्षे प्रधानन्त्रीमा नियुक्त भएका हुन्।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले अहिलेको मन्त्रीपरिषद्लाई त्यतिबेलासम्मका लागि अन्तरिम मन्त्रिपरिषद् भनिएको छ। तत्कालीन सत्तारुढ दल युनाइटेड नेशनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासालाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै राजापाक्षे राष्ट्रपति बनेका हुन्।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने गरेका थिए। झण्डै दश वर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षे दाइ महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव बनेका थिए।

प्रकाशित मिति: : 2019-11-27 21:39:33

प्रतिकृया दिनुहोस्