इराकी प्रदर्शनकारीद्वारा इरानी वाणिज्य दूतावासमा आगजनी

तस्बिरः एजेन्सी

इराकमा प्रदर्शनकारीहरुले नजफ सहरस्थित इरानी वाणिज्य दूतावासमा आगजनी गरेका छन्। इराकमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानविरुद्ध ‘इराकबाट फिर्ता जा’ लगायतका नारा लगाउँदै वाणिज्य दूतावासमा आगजनी गरेका हुन्।

प्रदर्शनकारीहरुले इराकको आन्तरिक मामिलामा इरानले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन्। इरानले इराकको वर्तमान सरकारलाई समर्थन जनाएका कारण प्रदर्शनकारीहरु इरानप्रति रुष्ट भएका हुन्। समाचार एजेन्सीहरुका अनुसार प्रदर्शन सुरु हुनुअघि नै इरानी वाणिज्य दूतावासका कर्मचारीहरु सुरक्षित रुपमा बाहिर गइसकेका थिए। इराकमा इरानी कुटनीतिक नियागविरुद्ध यसै महिना भएको यो दोस्रो हमला थियो ।

यसअघि करबलामा यस्तै प्रकारको घटना भएको थियो। दुई महिना यता इराकमा भइरहेको प्रदर्शन र हिंसाका क्रममा कम्तीमा ३४४ जनाको मृत्यु भइसकेको छ। प्रदर्शनकारीहरु भ्रष्टाचार अन्त्य, रोजगारीको व्यवस्था र आधारभूत सुविधाको माग गर्दै आएका छन्।

आन्दोलनबाट दक्षिणी इराक र राजधानी बग्दाद बढी प्रभावित भएको छ। नजफमा प्रहरीले प्रदर्शनकारीलाई रोक्न हरसम्भव प्रयास गरे पनि सफल हुन सकेन। आखिर प्रदर्शनकारीहरु इरानी वाणिज्य दूतावासमा प्रवेश गर्दै आगजनी गर्न थाले। इरानले प्रदर्शनकारीहरुलाई कानुनी दायरामा रहेर परिवर्तनको माग गर्न आग्रह गरेको थियो।

इरानले पश्चिमा राष्ट्रमाथि इराकमा अस्थिरता सिर्जना गरेको आरोप समेत लगाएको थियो। इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले एक वर्षअघि सत्ता सम्हालेका हुन्। उनले देशमा सुधारको प्रतिवद्धता जनाए पनि पूरा गर्न नसकेको प्रदर्शनकारीहरुको आरोप छ।

बढ्दो बेरोजगारी, भ्रष्टाचार, सरकारी सेवा–सुविधा अस्तव्यस्त भएकोे भन्दै १ अक्टोबरदेखि युवाहरु बगदादको सडकमा उत्रिन थालेका थिए। सरकारविरोधी प्रदर्शन विस्तारै देशमा अन्य भागमा समेत विस्तार हुन थाल्यो। सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न थालेपछि प्रदर्शन झन् उग्र बन्दै गयो। सुरुवाती ६ दिनमै १४९ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-11-28 13:51:32

प्रतिकृया दिनुहोस्