उत्तर कोरियाद्वारा ट्रम्पसँगको वार्ताको अध्याय समाप्त भएको घोषणा

तस्बिरः एपी

उत्तर कोरियाले अमेरिकासँगको आणविक निशस्त्रिकरणसम्बन्धी शिखर वार्ताको अध्याय समाप्त भएको घोषणा गरेको छ।उत्तर कोरियाका उप-विदेशमन्त्री चिओ सोन-हुईले शुक्रबार प्योङ्याङमा भएको एउटा विदेशी पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

समाचार एजेन्सी योंघापका अनुसार पत्रकार सम्मेलनमा उपविदेश मन्त्री चिओ सोन-हुईले भने प्योङ्याङले अमेरिकी मागलाई पूरा गर्नुपर्ने कुनै आवश्यकता नभएको बताउँदै उसले फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा भएको शिखर वार्तामा सुनौलो अबसर गुमाएको बताए।

उनले आगामी दिनमा परमाणु र मिसाइल विकास कार्यक्रमलाई पुन: सुरूवात गर्ने या नगर्नेबारे भने कुनै उल्लेख गरेनन् । 

अन्तिम पटक हनोईमा भएको ट्रम्प र किमबिचको शिखर वार्ता कुनै निस्कर्षमा नपुगी निर्धारित समयभन्दा पहिला समाप्त भएको थियो।

वार्तामा नेता किमले उत्तर कोरियामाथि लागेको प्रतिबन्ध अमेरिकाले पूर्ण रूपमा फुकुवा गरे आफूहरूले आंशिक रूपमा आणविक हतियार नष्ट गर्न तयार रहेको बताएका थिए। उत्तर कोरियालीको जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अमेरिकाले प्रतिबन्ध पूर्ण रूपमा फुकुवा गर्नुपर्नेमा उनको जोड थियो।

यसैबीच दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले सरकारले कुनै पनि परिस्थितिमा अमेरिका र उत्तर कोरियाबिचको वार्तालाई अगाडि बढाउने प्रयास जारी राख्ने बताएको छ।

 

प्रकाशित मिति: : 2019-03-15 21:01:40

प्रतिकृया दिनुहोस्