पाकिस्तानले भारतीय प्रधानमन्त्रीलाई हवाई मार्ग उपलब्ध गराउने

तस्वीरः एजेन्सी

पाकिस्तानले कीर्गिस्तानको विस्केक जान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हवाई उडानको अनुमति दिएको छ। विस्केकमा १३–१४ जुनमा संघाई सहयोग संगठन (एससिओ) सम्मेलन हुँदैछ।

यो सम्मेलनमा भाग लिन भारतीय अधिकारीहरूले पाकिस्तानसँग हवाई उडानको अनुमति माग गरेका थिए। जसलाई पाकिस्तानले स्विकार गरेको छ।

सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भाग लिँदैछन्। यी दुई छिमेकी राष्ट्रका प्रधानमन्त्री बीच विस्केकमै पहिलो भेट हुने सम्भावना छ। नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नियुक्त भएपछि उनले आफ्नो सपथ ग्रहण कार्यक्रममा दक्षिण एसियाका सबै राष्ट्राध्यक्षलाई निमन्त्रणा दिएपनि पाकिस्तानी समकक्षीलाई बोलाएका थिएनन्।

गत फेब्रअरीमा भारतीय सीमा भित्र आतंकवादी घटना भएपछि पाकिस्तान र भारत बीचको सम्बन्धमा कटुता देखिएको थियो। भारतीय वायु सेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा रहेको जेश–ए–मोहम्मदको आतंकवादी शिविरमा ‘एयर स्ट्राइक’ गरेपछि पाकिस्तानले जहाजको रुट बन्द गरेको थियो।

पाकिस्तानमा कूल ११ वटा जहाजको रुट छन्। जसमा हाल २ वटा रुट मात्र खुला छ। पाकिस्तानले २१ मेमा पनि भारतीय विदेशमन्त्री सुषमा स्वरालाई आफ्नो देशको बाटो हुँदै हवाई यात्रा गर्न अनुमति दिएको थियो। स्वराज पनि कीर्गिस्तानमा एससिओको विदेशमन्त्री स्तरीय बैठकमै भाग लिन गएकी थिइन।

प्रकाशित मिति: : 2019-06-11 09:47:58

प्रतिकृया दिनुहोस्