अदालतमा बयान दिने क्रममा लडेका इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको निधन

Agency

इजिप्टका पहिलो निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीको ६७ वर्षको उमेरमा निधन भएको छ। होस्नी मुबारकको ३० वर्ष लामो एक्लौटी शाषन ढालेर सत्तामा आएका मोर्सी अदालतमा एक्कासी बेहोस भएका थिए र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो। अस्पतालमै उनलाई मृत घोषणा गरियो।

सन् २०११ को अरब क्रान्तिपछि होस्नी सत्ताच्युत भएका थिए। २०१२ मा भएको निर्वाचनमा मुस्लीम ब्रदरहुडका यी नेता पहिलो पल्ट निर्वाचित राष्ट्रपति बन्न सफल भएका थिए। तर, ४ वर्षको कार्यकालमा एक वर्षभित्रै इजिप्ट आर्मीले ‘कू’ गर्यो।

उनीमाथि सत्तामा आउन हमाससँग सहकार्य गरेको आरोप लागेको थियो। उनी लगायत अन्य २१ जनामाथि ‘कायरो क्रिमिनल कोर्ट’ अन्तर्गत मुद्धाको सुनवाई भइरहेको थियो।

सन् २०१६ देखि उनी जेलमा बसेर ६ वटा मुद्धा लडिरहेका थिए। उनीमाथि २०१२ को आन्दोलन दबाउन आन्दोलनकारीको हत्या गरेको, कानुन उल्लंघन गरेको र आतंकवादी गतिविधिमा सलंग्न भएको आरोप लगाइएको थियो।

‘अदालतमा २० मिनेट आफ्नो तर्क राख्ने क्रममा उनलाई अहसज महसुस भएको थियो। उनी त्यही लडे। उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो। अस्पतालमै पछि उनको निधन भएको घोषणा गरियो,’ अदालत श्रोतले भन्यो।

विदेशी मिडियाले जनाएअनुसार टर्कीस राष्ट्रपति रिसेप ताइप इर्डोगनले सबैभन्दा पहिले मोर्सीलाई श्रद्धान्जली दिएका छन्। उनले मोर्सीलाई ‘शहिद’ भनेर सम्बोधन गरेका छन्।

 

प्रकाशित मिति: : 2019-06-17 22:50:24

प्रतिकृया दिनुहोस्