विदेशी बैकमा भारतको ५ लाख करोड जम्मा, कालोधन लुकाउने विश्वको चौथो देश

Agency

विदेशी बैकमा भारतीय नागरिकले लुकाएर राखेको धनको खोजी गर्ने बाचासहित सत्तामा आएको भारतीय जनता पार्टी(बिजेपी) को दोस्रो कार्यकालमा चकित बनाउने रिपोर्ट सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यममा भर्खरै सार्वजनिक भएको रिपोर्टअनुसार पछिल्लो ३० वर्षको अवधिमा विदेशी बैकमा ५ लाख करोड रुपैयाँ भारतीयहरूले धुपारेर राखेका छन्।

भारतीय कंग्रेस पार्टी सत्तामा हुँदा कालोधनलाई लिएर ठूलो अभियान सुरु भएको थियो। जसका कारण लोकसभा निर्वाचनमा १० वर्षदेखि सरकार बनाइरहेको कंग्रेसको अवस्था कमजोर बन्न पुगेको थियो।

मनमोहन सिंह प्रधानमन्त्री हुँदा सन् २०११ मा विदेशमा जम्मा गरेर राखिएको भारतीय हरूको पैसाको छानवीन गर्न सरकारले एउटा समिति नै बनाएको थियो। कंग्रेसी नेता एम् वीरप्पा मोइलीको अध्यक्षतामा बनेको स्थायी समितिले मोदी सरकारको पहिलो कार्यकाल समाप्त हुने बेला लोकसभाकी तत्कालिन सभामुख सुमित्रा महाजनलाई रिपोर्ट बुझाएको थियो।

यही रिपोर्टमा सन् १९८० देखि २०१० सम्म भारतीयहरूले विदेशी बैकमा २ सय १६ देखि ४ सय ९० अर्ब डलर जम्मा गरेको बताइएको छ।

एक तथ्यांक अनुसार कालोधन विदेशी बैकमा थुपार्ने देशहरूको पंक्तिमा भारत चौथो स्थानमा छ। कालोधन विदेशमा राख्ने मामिलामा चीन अगाडि छ। दोस्रो नम्बरमा रुस छ। तेस्रो नम्बरमा मेक्सिको पर्छ। पाँचौ नम्बरमा मलेसियालाई लिइन्छ।

सन् २०१८ मा सार्वजनिक भएको अर्को रिपोर्टअनुसार स्विस बैकमा मात्र भारतीयहरूको ७ हजार करोड डलर जम्मा छ।

प्रकाशित मिति: : 2019-06-26 17:15:21

प्रतिकृया दिनुहोस्