आइतबार, २५ मे २०२५

राजीनामाको दबाव झेल्दै गृहमन्त्री

News Image
• • •

अध्यागमन विभागमा कार्यरत कर्मचारी पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाव बढेको छ। केही दिनअघि त्रिभुवन विमानस्थलको अध्यागमन विभागमा कार्यरत सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेको थियो। 

भिजिट भिसामा लाखौं रकम लिएर मान्छे विदेश पठाउने गरेको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि प्रधानमन्त्री र गृहमन्त्रीसमेतको सल्लाहमा उनलाई अध्यागमन पठाइएको खुलेको थियो। 

उनले लाखौं रकम लिएर भिजिट भिसाधारीलाई अध्यागमन पार गराउँदै आएको उजुरीपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। 

गत बिहीबार गृहमन्त्रालयले उनलाई रातारात मन्त्रालयमा तानेको थियो। तर शुक्रबार बिहानै अख्तियारले मन्त्रालयबाटै उनलाई गिरफ्तार गर्‍यो। 

यो प्रकरणपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आमनागरिकस्तरबाटै दबाव बढ्न थालेको छ। प्रतिपक्ष दलका सांसदहरूले समेत गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्। 

उनकै पार्टी नेपाली काँग्रेसभित्रै पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेको छ। शनिबार बिराटनगरमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पनि गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सजिलो बनाउनुपर्ने धारणा राखेका थिए। 

यद्यपि गृहमन्त्री लेखकले यो आरोप स्वीकार गरेका छैनन्। बरु उनले केही समयपछि यसबारे आफै बोल्ने भन्दै शनिबार साँझ नै मन्त्रालयका तर्फबाट विज्ञप्ति निकाल्न लगाएका थिए। 

आजै नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ। त्यो बैठकमा पनि गृहमन्त्रीको राजीनामाबारे छलफल हुने नेताहरूले बताएका छन्। 
उनी पक्राउ परेपछि अहिले गृमन्त्रालयमा हंगामा मच्चिएको छ। गृहले कतिपय कर्मचारीहरूलाई समेत रातारात आन्तरिक सरुवा गरेको छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?