
बिएल संवाददाता
मोरङ
मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मा फलाम काट्ने ग्रेन्डरले एक सात वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको छ। जिस्किने क्रममा ग्रील पसल सञ्चालकले फलाम काट्ने ग्रेन्डर चलाउँदा बालक घाइते भएका हुन्।
सोमबार बेलुका स्थानीय मही चौधरीको ग्रील पसलमा खेलिरहेका बेला सोही टोलका किरण चौधरीका छोरा घाइते भएका हुन्। प्रहरीले जनाएअनुसार ग्रेन्डरमा ब्लेड घुमाइरहेका बेला जिस्किने क्रममा बालकको लिङ्गमा चोट लागेको हो।
घटनापछि बालकलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको लिङ्गको टुप्पोको भाग काटिएको छ र शल्यक्रिया गरिएको छ। पीडितको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनालगत्तै अभियुक्त मही चौधरीले बालकलाई आफैं अस्पताल पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ। ‘लापरवाहीका आधारमा अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘बालबालिकाको सुरक्षामा लापरवाही भएको देखिन्छ।’
प्रहरीले घटना गम्भीर प्रकृतिको रहेको भन्दै बाल अधिकारसम्बन्धी कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .