संखुवासभाबाट एसलएलआरसहित बिप्लवका जिल्ला नेता पक्राउ

तस्बिरः एजेन्सी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र प्रहरीबीच भएको ‘दोहोरो गोली हानाहान’ घटना पछि प्रहरीले उक्त स्थानबाट अत्याधुनिक हतियार फेला पारेको छ।

प्रहरी र बिप्लव माओबादीको भिडन्त भएको स्थान संखुवासभाको मावा खोलाबाट प्रहरीले एक थान एसएलआर राईफल र १ सय १० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो।

प्रहरीसँगको दोहोरो फायरपछि सर्च अभियान थालेको प्रहरीले केही दिनअघि विप्लव समूहका जिल्ला नेता नेता निमदोर्जे तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ।

तामाङलाई पक्राउ गरेबारे प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक सचिवालयका एसपी रमेश थापाले पुष्टी गरे।

‘बिप्लव कार्यकर्तासँग भएको गोली हानाहान घटना पछि मावा खोलाबाट एसएलआर राईफल र १ सय १० राउण्ड गोलीसहित तामाङ पक्राउ परेका हुन्,’ थापाले भने।

दोहोरो गोली हानाहान लगत्तै प्रहरीले गरेको सर्च अभियानका क्रममा उनी पक्राउ परे पनि अन्य कुराको अनुसन्धान गर्न भन्दै  प्रहरीले यसलाई गोप्य राखेको थियो।

यसैबीच घटनापछि आफ्ना तीन कार्यकर्ता सम्पर्कविहीन रहेको बताएको थियो।

विप्लव माओवादीको पूर्वी केन्द्रीय कमाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तीन बेपत्ता कार्यकर्तामध्ये सुजन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेर राखेको दाबी गरेको छ। अन्य दुई कार्यकर्ताको अवस्था ‘अज्ञात’ रहेको विप्लव माओवादीको दाबी गरेको छ।

पूर्वी कमाण्ड इञ्चार्ज ‘विषम’ले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘टोलीका सबै ज्यान जोगाउन सफल भए पनि तीन जना सम्पर्कविहीन भएकोमा एक जना सम्पर्कमा आएका छन्, दुई जनाको अवस्था अज्ञात छ।’

विज्ञप्तिमा पार्टी कार्यकर्ताहरु संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको दाबी गरिएको छ।

प्रहरीसँगको ‘दोहोरो भीडन्त’ मा यसअघि भोजपुरमा विप्लव कार्यकर्ता तीर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको मृत्यु भएको थियो।

 

प्रकाशित मिति: : 2019-07-04 15:25:34

प्रतिकृया दिनुहोस्