एनआरएनएमा देखिएको गुटबन्दीलाई सत्ता साझेदारहरूले मलजल गरेपछि समीकरण थप गिजोलिएको छ। एनआरएन नै अलगथलग बन्न पुगेको छ।
सर्वोच्च अदालतले पूर्व अध्यक्ष शेष घलेको संयोजगत्वमा उच्चस्तरीय समित बनाएर एकता महाधिवेशन गराउँन आदेश दिएपछि परराष्ट्रमन्त्री आरजु राणाले आफ्नै सक्रियतामा गत वैशाख २० गते एकता महाधिवेशन गराइन्।
महाधिवेशनले कांग्रेस र माओवादीको गठबन्धनबाट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यमसमिति निर्विरोध चयन गर्यो। एमाले गुटका अर्का अध्यक्ष बद्री केसी समूहले महाधिवेशन नै बहिष्कार गर्यो।
अब यतिबेला दुई कार्यसमिति सक्रिय भएका छन्। परराष्ट्रमन्त्री राणाले नयाँ कार्यसमितिलाई औपचारिकता प्रदान गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली पुरानै कार्यसमितिलाई जगाउँन लागि परेका छन्।
यतिबेला एनआरएनएमा तीन पार्टीका तीन गुट बनेका छन्। महेश श्रेष्ठ नेतृत्वको कांग्रेस गुट, बद्री केसी नेतृत्वमा एमाले र आरके शर्मा नेतृत्वमा माओवादी गुट सक्रिय छ। नयाँ कार्यसमितिमा श्रेष्ठ र शर्मा गुट मिलेपछि एमाले समूह पाखा लागेको थियो। तर, ओलीले केसी गुटलाई नै वैधानिकता दिँदै उसैको कार्यक्रममा मात्र सहभागीता जनाउँदै आएका छन्।
हायात होटलमा भएको एकता महाधिवेशनको उदघाटनमा परराष्ट्रमन्त्री राणा सहभागी भइन् भने समापन समारोहमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। प्रधानमन्त्री ओलीले भने महाधिवेशन नै बहिष्कार गरे। बरु उनले बद्री केसी नेतृत्वको पुरानो कार्यसमितिलाई नै छलफलमा बोलाएर आधिकारिकताको ट्याग भिराइदिए।
यता नवनिर्वाचित कार्यसमिति आफूलाई आधिकारिक पुष्टि गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रपतिको दैलोमा पुगिरहेको थियो। यता बद्री गुट ओलीको दैलोमा।
ओलीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताउँदै आगामी अक्टोबरमा हुने अधिवेशनको तयारीमा लाग्न निर्देशन दिए। उनले ११औं महाधिवेशनले मान्यता पाइसकेकोले अरु महाधिवेशन भयो/भएन भन्ने कुराले कुनै अर्थ नराख्ने भने।
बुधबार मात्र प्रधानमन्त्री ओलीले केसी समूहले आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ-२०२५ मा सहभागी भए। त्यहाँ उनले एनआरएनए राजनीति गर्ने ठाउँ नभएको भने। उनले कसैको स्वार्थका लागि एनआरएनए विभाजित हुन नहुने बताए।
उनले संस्थाको भलो चिताउने, एकता चिताउने, संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए।
उनले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन।’ तर उनै ओली फेरि आफ्नै अवैधानिक गुटलाई बोकेर हिँडिरहेका छन्।
अझ रोचक कुरा २०७२ सालमा शेष घलेसँग अध्यक्षमा हारेका टीबी कार्की ओली सहभागी कार्यक्रममा सहभागी भएका छन्।
त्यस्तै ओली सहभागी कार्यक्रममा एनआरएन कम एमाले र युवा संघका नेता कार्यकर्ताको हालिमुहाली ज्यादा थियो। यस्तो थियो एकता मधाधिवेशनमा पनि। उद्घाटनमा आरजु सहभागी हुँदा कांग्रेस निकट विद्यार्थीहरूको हालीमुहाली थियो भने समापनमा प्रचण्ड जाँदा माओवादी निकट वाईसीएलका नेता कार्यकर्ताको।