गृहप्रशासन र सुरक्षा निकायमा वृत्ति विकास पुनः सञ्चालन गरिने

गृहमन्त्री रामबहादुर थापा बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्ति सुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताएका छन्।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताए।

सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले कैदीबन्दीलाई तालीम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको जानकारी दिए।

गृहमन्त्री थापाले तस्करीलगायत सङ्गठित अपराधविरुद्ध ठूलो सफलतामा हासिल भएको तथा तस्करी र सङ्गठित अपराध घटाउने विषयमा काम भइरहेको बताए।

उनले गृहप्रशासन र सुरक्षा निकायमा लामो समयदेखि रोकिएको वृत्ति विकास पुनः सञ्चालन गरिने बताए।

उनले स्थानीय सरकारको नेतृत्वमा लागूऔषध रोकथाम र  पुनःस्थापना अभियान सञ्चालन गरी हिंसारहित समाज बनाउने अभियान शुरु गरिएको बताउँदै सीमा नाकामा भएका गतिविधिमा निगरानी गर्न  क्यामेरा जडान गरिने जानकारी दिए।

उनले नेपालको संविधान, कानून र देशको मार्गचित्रलाई व्यवस्थित गर्न सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण दुई वर्षभित्रसम्म सम्पन्न गर्ने योजना रहेको जानकारी दिए। रासस

प्रकाशित मिति: : 2019-07-08 14:59:39

प्रतिकृया दिनुहोस्