भारतीय दूतावास अगाडि विद्यार्थीले जलाए विवादित नक्सा

बिएल

भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा विद्यार्थीहरुले जलाएका छन्।

शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा संयुक्त विद्यार्थीले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन्।विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा पनि लगाइएको थियो ।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ। नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन्। तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ।

प्रकाशित मिति: : 2019-11-08 12:10:57

प्रतिकृया दिनुहोस्