प्रियंका गान्धी पक्राउ

Agency

भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रमा जमिन विवादमा ज्यान गुमाएका ११ गाउँलेका परिवारलाई भेट्न हिडेकी भारतीय कंग्रेस पार्टी महासचिव प्रियंका गान्धी वाड्रालाई मिर्जापुर जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ।

सोनभद्र नरसंहारपछि राज्य सरकारले घटना भएको गाउँ र आसपासका क्षेत्रमा धारा १ सय ४४ लागु गरेको छ।

गत बुधबार जमिनको विषयलाई लिएर दुई समूहबीच भएको झडपमा ३ महिलासहित ११ जनाले ज्यान गुमाएका थिए।

उत्तर प्रदेश सरकारले घटनामा प्रधानपञ्चसहित २७ जनालाई पक्राउ गरेको छ। शुक्रबार बनारसस्थित ट्रमा सेन्टर पुगेकी प्रियंकाको जत्था एक्कासी मिर्जापुरको बाटो हुँदै सोनभद्रतर्फ लागेपछि सुरक्षाकर्मीले नारायणपुर नजिकै रोकेको थियो।

प्रियंकाले आफूलाई रोकेको विषयलाई लिएर विरोध गर्दै धर्ना बसेकी थिइन। उनलाई प्रहरीले रोकेको समाचार पाएपछि स्थानीय कंग्रेसी कार्यकर्ताहरू घटनास्थलतर्फ लागेका थिए।

प्रहरीले कानुन व्यवस्था दुरुस्त राख्न उनलाई पक्राउ गरेको बताएको छ। प्रियंकालाई पक्राउ गरेलगत्तै गाडीमा राखेर मिरजापुर जिल्ला प्रशासनको चुनार किलास्थित गेस्ट हाउसमा राखिएको छ। उनले आफूलाई वारेन्ट बिना पक्राउ गरेको भन्दै विरोध गरेकी छिन्।

 

प्रकाशित मिति: : 2019-07-19 14:42:53

प्रतिकृया दिनुहोस्